रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १०१ जना व्यक्ति सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।
बिहीबार साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरका २९, कैलालीका ३१, डडेल्धुराका १५, डोटीका २, बैतडीका ४, बाजुराका १४, अछामका १, दार्चुलाका ३ र बझाङका २ जना रहेका छन् । सम्पर्कविहीन हुनेमा ५ जना सुरक्षाकर्मीसमेत रहेका प्रहरीले जनाएको छ । उनीहरूमध्ये ४ जना नेपाल प्रहरी र १ जना सशस्त्र प्रहरीका जवान छन् । सम्पर्कविहीन व्यक्तिहरूको विवरण आफन्तहरूले सम्बन्धित निकायमा गराएको जानकारीका आधारमा संकलन गरिएको एसएसपी विष्टले बताए । रसुवामा विपद्सम्बन्धी सूचना केन्द्र स्थापना गरिएकाले त्यहाँबाट प्राप्त विवरणका आधारमा सुदूरपश्चिमका सम्पर्कविहीन व्यक्तिको तथ्याङ्क संकलन गरिएको उनले जानकारी दिए । सम्पर्कविहीनमध्ये केही रोजगारीका लागि, केही निर्माणको काममा तथा केही गोसाइँकुण्ड यात्राका क्रममा रसुवा पुगेको प्रारम्भिक जानकारी प्रहरीले प्राप्त गरेको छ । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा टोली परिचालन भइरहेको प्रहरीले जनाएको छ । यसै विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी पदमबहादुर विष्टसँग कुराकानी गरेका छौँ :
अहिलेसम्म सम्पर्कविहीन भएका कति सुदूरपश्चिमका नागरिकको विवरण प्राप्त भएको छ ?
हामीलाई अहिलेसम्म प्राप्त जानकारीअनुसार सम्पर्कमा नरहेका अथवा हराइरहेका जम्मा १०१ जना सुदूरपश्चिम घर भएका व्यक्तिको विवरण प्राप्त भएको छ । जसमा कञ्चनपुरका २९, कैलालीका ३१, डडेल्धुराका १५, डोटीका २, बैतडीका ४, बाजुराका १४, अछामका १, दार्चुलाका ३ र बझाङका २ जना छन् ।
यो १०१ जनामध्ये ५ जना प्रहरी कर्मचारी पनि रहेको बुझिएको छ । ४ जना नेपाल प्रहरीका र १ जना सशस्त्र प्रहरीका जवान हुनुहुन्छ ।
अहिले उहाँहरू ‘मिसिङ पर्सन’ अर्थात् सम्पर्कविहीन भनेर विवरण आएको छ । कुनै व्यक्ति सम्पर्कमा आए वा खोजीका क्रममा अवस्था पुष्टि भएमा त्यसअनुसार विवरण अद्यावधिक हुन्छ ।

उनीहरूका आफन्तहरूले प्रहरीलाई जानकारी गराएका हुन् ?
हो । आफन्तहरूले ‘हाम्रो मान्छे यसरी हराएको छ’ भनेर जानकारी गराएको आधारमा विवरण संकलन गरिएको हो । रसुवामा विपद्सम्बन्धी सूचना केन्द्र पनि स्थापना गरिएको छ । त्यहाँबाट प्राप्त जानकारीका आधारमा हामीलाई विवरण आएको हो ।
१०१ जना सम्पर्कविहीन भएको तथ्याङ्क कसरी संकलन गरिएको हो ?आफन्तहरूले नै जानकारी दिएका हुन् ?
हो ।
उनीहरूको खोजी तथा उद्धारका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले कसरी समन्वय गरिरहेको छ ?
सुदूरपश्चिम प्रदेश प्रहरीको भूमिका समन्वयात्मक हुन्छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खोज तथा उद्धार टोलीहरू परिचालित छन् । अहिले सुदूरपश्चिमबाट छुट्टै सुरक्षाकर्मीको टोली पठाउने अवस्था छैन । उतै पर्याप्त जनशक्ति परिचालन भएको छ र त्यहीअनुसार खोजी तथा उद्धार भइरहेको छ ।
सम्पर्कविहीन भएका अधिकांश व्यक्ति के कामका लागि रसुवा पुगेका थिए ?
कोही रोजगारीको सिलसिलामा, कोही निर्माणको कामका लागि त्यहाँ गएको देखिन्छ । केही भने गोसाइँकुण्डतर्फ यात्रा तथा तीर्थाटनका लागि गएको देखिन्छ ।






