काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने र आकर्षक तलब दिलाउने प्रलोभनमा पारी ठगी गर्ने चार जनालाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
लामो समयसम्म झुक्यानमा राखी रकम असुल गरी सम्पर्कविहीन भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।माल्दिभ्स पठाउने भन्दै ३ जना पीडितबाट ५ लाख ६० हजार रुपैयाँ ठगी गरेकी स्याङ्जा चापाकोट नगरपालिका-८ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएकी ३६ वर्षीया बिमला घले भदौ १० गते काठमाडौँ-१२ बाट पक्राउ परेकी छन्। त्यस्तै माल्टा पठाउने भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरेका प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भई नागार्जुन नगरपालिका-४ बस्ने ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल भदौ १० गते काठमाडौँ-१६ बाट पक्राउ परेका छन्।माल्टा पठाउने बहानामा १ जना पीडितबाट ५ लाख रुपैयाँ ठगी गरेका नुवाकोट ककनी गाउँपालिका-८ घर भई काठमाडौँ-३ बस्ने ३५ वर्षीय सागर गोतामे भदौ ११ गते काठमाडौँ-३ बाट पक्राउ परेका छन्।
त्यसैगरी अमेरिका पठाउने भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ ठगी गरेकी ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थायी घर भई सोही नगरपालिकाको वडा नं. २ मा बस्दै आएकी ३० वर्षीया सिन्सा श्रेष्ठ भदौ ११ गते पक्राउ परेकी छन्।
पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा पक्राउ परेका यी सबै प्रतिवादीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको जानकारी प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले दिएका छन्।






