काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई विदेशबाट प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । परराष्ट्रमन्त्री खनालले रोयटर्ससँग कुरा गर्दै सुरुङमा फसेका मानिसको उद्धार, ध्वस्त पुलका कारण अवरुद्ध यातायात तथा सञ्चार सेवा पुनः सञ्चालन, शव पहिचान, डीएनए परीक्षण तथा लामो समयसम्म शव सुरक्षित राख्ने प्रविधिमा नेपाललाई विदेशी सहयोग आवश्यक रहेको बताएका हुन् ।
बुधबार हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि ठुलो परिमाणमा ढुङ्गा, बरफ, हिलो र माटोसहितको बाढी नदी प्रणाली हुँदै नेपाल र चीनको तिब्बततर्फ बगेको थियो । यसबाट नेपाल र तिब्बतमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको तथा २ हजारभन्दा बढी अझै सम्पर्कविहीन रहेको अवस्था छ । भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलङ्का र बङ्गलादेशले आफ्ना खोज तथा उद्धार टोली पठाउन नेपाल सरकारसँग अनुमति मागेको बताइएको छ । तर, नेपाल सरकारले तत्काल विदेशी खोज तथा उद्धार टोलीको आवश्यकता नरहेको जनाएको थियो ।परराष्ट्रमन्त्री खनालले भने नेपाली उद्धारकर्मीहरूले सामान्य खोज तथा उद्धारको काम गरिरहेको भन्दै त्यही काम दोहोर्याउन विदेशी टोली ल्याउनु आवश्यक नरहेको स्पष्ट पारेका छन् ।
‘हामीलाई सामान्य खोज तथा उद्धारमा सहयोग आवश्यक छैन । नेपाली उद्धारकर्मीहरूले त्यो काम गरिरहेका छन् । यसलाई दोहोर्याउन आवश्यक छैन,’ खनालले भनेका छन् ।
सुरुङ उद्धारमा प्राविधिक सहयोग आवश्यक
बाढीबाट प्रभावित क्षेत्रमा केही मानिस जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको हुनसक्ने जानकारी आएको खनालले बताए । नेपाल सुरुङ निर्माण तथा सुरुङ उद्धारको क्षेत्रमा अझै नयाँ भएकाले आवश्यक उपकरण र प्राविधिक ज्ञानको आवश्यकता रहेको उनको भनाइ छ ।
नेपालले यसअघि नै आफ्नो क्षमता सीमित रहेका विशेषीकृत सेवा तथा प्राविधिक सहयोगका लागि विदेशी मुलुकसँग अनुरोध गरिसकेको खनालले बताए ।
बाढीले करिब दुई दर्जन पुलमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा यातायात र सञ्चार सेवा तत्काल पुनः सञ्चालन गर्न नेपालले आफ्ना दुई ठूला छिमेकी भारत र चीनसँग बेली ब्रिज उपलब्ध गराउन अनुरोध गरेको छ ।
अस्पतालमा शव राख्ने ठाउँको अभाव
बाढीमा धेरै मानिस बगेको र केही शव घटनास्थलभन्दा करिब १०० किलोमिटर टाढा चितवन तथा नवलपरासीका मैदानी क्षेत्रमा फेला परिरहेको अवस्था छ । शव फेला पर्ने क्रम अझै बढ्न सक्ने भन्दै खनालले अस्पतालहरूमा शव राख्ने रेफ्रिजरेटरको अभाव रहेको उनले बताएका छन् ।
‘अस्पतालहरू शवले भरिएका छन् र शव सुरक्षित राख्न पर्याप्त रेफ्रिजरेटर छैनन्,’ खनालले भने । बाढीले विद्यालय, अस्पताल, जलविद्युत् आयोजना, सडक, पुललगायतका महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्याएको नेपाली अधिकारीहरूले बताएका छन् । आगामी चरणमा प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि पनि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने उनीहरूको भनाइ छ ।
यसअघि सरकारले तत्कालको उद्धार तथा राहत व्यवस्थापन नेपाली संयन्त्रबाटै गर्न सकिने बताएको थियो । तर, उद्धारभन्दा बाहिरका विशेषज्ञता, उपकरण र प्राविधिक ज्ञान आवश्यक पर्ने क्षेत्रमा भने विदेशी सहयोग लिन नेपाल खुला रहेको परराष्ट्रमन्त्री खनालको भनाइ छ ।







