काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर नेता आङदेम्बेले प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा छलफल गर्दै ९ बुँदे लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन्। यसअघि आफैँ नुवाकोट लगायतका क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका आङदेम्बेले त्यहाँ देखिएका समस्या समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण गराएका हुन्। निरीक्षणकै क्रममा उनले गृहमन्त्री सुधन गुरुङलाई समेत भेटेर अवस्थाबारे जानकारी गराएका थिए।

प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा संघीय सरकारले स्थानीय तहसँग प्रभावकारी समन्वय र सहकार्य बढाउनुपर्ने तथा राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाली सेनाले गरिरहेको हवाई उद्धार कार्य सराहनीय भए पनि रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न उनले माग गरेका छन्।

यस्ता छन् आङदेम्बेले उठाएका मुख्य विषयहरू

  • सडक र पुल निर्माण: रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी तत्काल आवागमन सुचारु गर्न आग्रह गरिएको छ। साथै, बाढीबाट क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलिब्रिज जडान गर्न सरकारसँग माग गरिएको छ।
  • अन्तर्राष्ट्रिय उद्धार टोली र ड्रोनको प्रयोग: सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन आग्रह गरिएको छ। त्यस्तै, त्रिशूली नदी क्षेत्रमा खोजी कार्यका लागि ड्रोनको व्यवस्था गर्न समेत सुझाइएको छ।
  • घाइतेको उपचार र यातायात: सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्‍याउने यातायातको व्यवस्था गर्नुपर्ने माग पत्रमा छ। नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइते तथा ज्येष्ठ नागरिकको उपचारका लागि आवश्यक अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न तथा पर्याप्त शय्या उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ।
  • शव व्यवस्थापन तथा सञ्चार: बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेको भन्दै बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पार्न स्थलगत खोज तथा उद्धार टोली परिचालन गर्नुपर्ने उल्लेख छ। साथै, उद्धार तथा राहत कार्य सहज बनाउन अवरुद्ध विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गर्न माग गरिएको छ।

विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन विपक्षी दलका नेता आङदेम्बेले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय