काठमाडौँ। रसुवातर्फबाट आएको बाढीका कारण त्रिशुली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बाढीका कारण भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायत पश्चिम चितवनका बस्तीहरू जोखिममा परेका छन्।

नदीले धार परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएको छ। जोखिममा परेका नागरिकप्रति गहिरो चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय पूर्ण रूपमा परिचालित भइसकेको जानकारी दिएका छन्।विगतको जोखिम नक्साङ्कनमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिएको यस क्षेत्रमा हालका वर्षहरूमा नदीको बहाव र थेग्रानको व्यवहार फरक देखिएकाले नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गरिने भएको छ। सूचना प्राप्त भएलगत्तै मन्त्रालय अन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह तथा प्रदेश सरकारसँग निरन्तर समन्वयमा खटिएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।तटबन्धका लागि ठूला ढुङ्गा जुटाउने कार्य भइरहेको र निर्माण सामग्री उपलब्धताका लागि गैंडाकोट नगरपालिकासँग समन्वय भइरहेको छ। दीर्घकालीन समाधानका लागि नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गरिँदै छ।

बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले बगाएका जलमापन केन्द्रको पूरकका रूपमा तत्काल तीनवटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर अनुगमन गरिने भएको छ। साथै जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापना प्राथमिकताका साथ अघि बढाइनेछ।

यस विषयलाई तत्काल उठाई समन्वयमा सक्रिय भूमिका खेल्ने माननीय मन्त्री सोवित गौतम तथा नदी नियन्त्रण फिल्ड कार्यालयलाई धन्यवाद दिइएको छ। नदी किनारका बासिन्दाहरूलाई अत्यन्त सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न मन्त्री श्रेष्ठले अनुरोध गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय