काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
भदौ १२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको हो।
निमित्त रजिष्ट्रार प्रा. डा. महानन्द चालिसेद्वारा जारी सूचनाअनुसार विश्वविद्यालयअन्तर्गत विभिन्न निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको २०८३ भदौ महिनाको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिनेछ।
कसको कति रकम कट्टा हुनेछ ?
आर्थिक प्रशासन महाशाखामार्फत भदौ महिनाको तलब भुक्तानी गर्दा निम्नअनुसारको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ-
कुलपतिबाट नियुक्त पदाधिकारी (उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत): एक महिनाको पारिश्रमिक।
प्राध्यापक, प्रशासक, सहप्राध्यापक र सहप्रशासक (वा सो सरह): मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम।
उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत र प्रशिक्षक (वा सो सरह): मासिक सुरु तलब स्केलको ७ दिन बराबरको रकम।
मुख्य कार्यालय सहायक र कार्यालय सहायक (वा सो सरह): मासिक सुरु तलब स्केलको ५ दिन बराबरको रकम।
श्रेणीविहीन कर्मचारी: मासिक सुरु तलब स्केलको २ दिन बराबरको रकम।
प्राकृतिक विपद्को यस दुःखद घडीमा विश्वविद्यालय परिवारले संस्थागत र व्यक्तिगत तवरबाट पीडितहरूको राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ ।








