रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर नगद चोरी गर्ने २९ जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद भएको छ।
भोटेकोशीको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेलखुखोलास्थित त्रिशुली नदीको किनारमा फेला परेको थियो। स्थानीय मानिसहरूले उक्त सेफ तोडफोड गरी भित्र रहेको नगद आफूखुसी निकालेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।छानबिन तथा खानतलासीका क्रममा प्रहरीले घटनामा संलग्न २९ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका वडा नम्बर ४ मासटारका पवन पौडेल, बिरबहादुर रानामगर, बिनोद गिरी, नवराज भेटुवाल, पुर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिबबहादुर रानामगर, युवराज अधिकारी, सुचिमबहादुर रानामगर, सबिन श्रेष्ठ, प्रेमबहादुर रानामगर, अनिल भेटुवाल, रामशरण सुबेदी, मिनबहादुर रानामगर, देवेन्द्र रानामगर, दिपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर रानामगर र सन्तोष श्रेष्ठ रहेका छन्।त्यस्तै गल्छी–६ आदमघाटका सुसान्त श्रेष्ठ, नारायण श्रेष्ठ, अग्नि आलेमगर, गल्छी–८ सिमपानीका सानुभाइ श्रेष्ठ, सिद्धलेक७ आदमटारका सानु खतिवडा, चितवन राप्ती–६ घर भई आदमघाट बस्ने बिचारी आलेमगर र पर्सा बहुदरीमाई–९ घर भई आदमघाट बस्ने सकुर अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







