काठमाडौँ । बुधबार आएको भीषण बाढी र पहिरोमा परेको चीनको सीमा नाकामा जीवितै मानिसहरू भेटिने सम्भावना समाप्तप्रायः बनेको उद्धार अधिकारीहरूले जनाएका छन्।
समुद्र सतहदेखि ३,८०० मिटरभन्दा बढी उचाइमा रहेको उक्त नाकामा चिनियाँ उद्धारकर्ताहरू शुक्रबार दिउँसो आइपुगेका थिए।बाढी प्रभावित क्षेत्रका संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ‘पहिरोको प्रभाव क्षेत्रभित्रका भवनहरू प्रायः समथल बनेका छन् र कुनै पनि संरचनाको अस्तित्व प्रस्ट देखिँदैन,’ उद्धार टोलीका नेता लिउ माओलिनले बताए। ‘जमिन बाक्लो हिलो र लेदोको थुप्रोले ढाकिएको छ भने नाकाको पूर्वाधारमा निकै गम्भीर क्षति पुगेको छ,’ उनले थपे। हालसम्म कुनै पनि जीवित व्यक्ति फेला नपरे पनि सानो आशा रहँदासम्म टोलीले प्रयास जारी राख्ने माओलिनले बताए। ‘थोरै मात्र आशा बाँकी रहेसम्म हामी हार मान्ने छैनौँ,’ उनले भने।
दर्जनौँ किलोग्राम तौलका उपकरण बोकेर उद्धार टोलीले अत्यन्त प्रतिकूल मौसमको सामना गरिरहेको छ। ‘सामान्य पाइला चाल्दा समेत छाती भारी हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने र टाउको दुख्ने जस्ता समस्या भइरहेका छन्,’ चिनियाँ संकट व्यवस्थापन पत्रिकाले जनाएको छ।







