काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै आएको बाढीबाट प्रभावित नेपाली बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिने भएको छ।
नर्दन टेरिटोरी क्रिकेटले प्रतियोगिताका बाँकी खेलमा दर्शकका लागि प्रवेश शुल्क नलिने र मैदान प्रवेश गर्ने दर्शकबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गर्ने जनाएको छ।
नर्दन टेरिटोरी क्रिकेट (एनटी स्ट्राइक) ले सामाजिक सञ्जालमार्फत आज राति नेपाल र भिक्टोरिया सिए–११ बीच हुने खेलमा थप सहयोग जुटाउन नेपाली टोलीका खेलाडीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको र्याफलसमेत आयोजना गरिने जानकारी दिएको छ।
एनटी स्ट्राइकका अनुसार सिरिजका बाँकी खेलमा दर्शकले निःशुल्क प्रवेश पाउनेछन्। मैदान प्रवेशका क्रममा दर्शकलाई इच्छाअनुसार सहयोग रकम प्रदान गर्न आग्रह गरिनेछ
सङ्कलित सम्पूर्ण रकम नेपालका बाढी प्रभावित बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिनेछ।
यसैबीच, जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनलको दौडबाट बाहिरिसकेको नेपाल आज प्रतियोगितामा सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ।
नेपाल हाल चार अङ्कसहित प्रतियोगिताको अङ्कतालिकामा सातौँ स्थानमा रहेको छ।







