भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावकबाल जोशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेका हुन्। उनले टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

चेक बुझ्दै महावाणिज्यदूत अधिकारीले विपत्तिको समयमा नेपाल सरकार र प्रभावित नागरिकलाई सहयोग गरेकोमा जोशीप्रति धन्यवाद व्यक्त गरे।

‘यतिबेला मुलुकलाई संसारभर छरिएर रहेका नेपालीको सहयोगको खाँचो छ। तपाईंको यो सहयोगले अरूलाई पनि आफ्नो मातृभूमिका लागि सहयोग गर्न प्रेरणा दिनेछ,’ अधिकारीले भने।

विपत्तिको यो घडीमा जन्मभूमिप्रतिको आफ्नो दायित्व सम्झेर फाउन्डेसनका तर्फबाट सहयोग गरिएको जोशीले बताए। उनले संसारभर रहेका नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गरे।

७७७ म्याराथनका रूपमा चिनिने विश्व म्याराथन च्यालेन्जमा कीर्तिमान कायम गरेका जोशीले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय