काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्।
शनिबार साँझ ५ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी तथा निश्चित समयका लागि मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।काठमाडौँ उपत्यका जोड्ने नागढुङ्गादेखि मुग्लिङ सडक खण्डमा बाढीका कारण क्षति पुगेपछि हाल एकतर्फी रूपमा सवारी सुचारु गरिएको छ। कोशी प्रदेश अन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। झापादेखि ताप्लेजुङ जोड्ने यो सडक बन्द भए पनि अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ।बागमती प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा रोक्ने तथा सडक पूर्ण अवरुद्ध हुने अवस्था छ। काभ्रेस्थित बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सुचारु हुनेछन्। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा पनि साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी रसुवाका मुख्य राजमार्गहरू तथा त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक खण्डको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटमा पनि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् भने टोखा छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङस्थित पृथ्वी राजमार्गका जुवाडेखोला, बिहानीपम्प, गलौँदी, जहरे खेत, बाङ्गे मोड र बैरेनि लगायतका स्थानमा एकतर्फी रूपमा बाटो खुलाइएको छ। सिन्धुपालचोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।








