काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। बहाव तल रहे तापनि ती क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै रहेको छ।

तीन दिनको जलसतह पूर्वानुमान अनुसार कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा उल्लेख्य बढ्ने क्रम रहनेछ। नारायणी जलाधारतर्फ नारायणी, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालिगण्डकीमा बहाव उल्लेख्य बढ्नेछ भने त्रिशूली नदी बेत्रावती क्षेत्रमा उल्लेख्य बढ्ने अनुमान गरिएको छ। कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूमा पनि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।

साना नदीहरूको बाढी पूर्वानुमानअनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

साथै नुवाकोट र रसुवा जिल्ला भई बहने साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय