रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर-११ स्थित लोकनगर बस्ती शोकमा डुबेको छ।

रोजगारीका क्रममा रसुवाको जलविद्युत् आयोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारूको बाढीका कारण ज्यान गएको हो।

दसैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना बोकेका यी युवाहरूको क्षतविक्षत अवस्थामा शव ल्याइपुर्‍याइँदा सिङ्गो बस्ती स्तब्ध बनेको कोहलपुर नगरपालिका-११ की वडाध्यक्ष कल्पना अधिकारीले बताएकी छन्।

अभिभावकको एक्लो छोरा रहेका महेश गत असार १० गते मिस्त्री कामका लागि रसुवा गएका थिए। बाढीपछि सम्पर्कविहीन भएका उनको शव चितवन पुगेर आफन्तले फेला पारेका थिए।

महेशका वृद्ध बुबा विश्रामले भने, ‘सुरुदेखि नै फोन लागेन, लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन पुग्यौँ, छोरो मृत अवस्थामा भेटियो। बाढीले छोरालाई बगाएपछि बुढेसकालको सहारा खोसिएको छ।’ महेशको घरमा श्रीमती, वृद्ध बुबाआमा र आठ तथा दुई वर्षका दुई छोराहरू रहेका छन्।

त्यसैगरी गत वैशाखमा रोजगारीका लागि रसुवा पुगेका २३ वर्षीय कबीरलालको शव पनि भरतपुर अस्पतालमा फेला परेको उनका दाजु सुग्रीप थारूले जानकारी दिएका छन्। सुग्रीपले भने, ‘भरतपुर अस्पतालमा सयौँ लास थिए, खोजी गर्दा भाइको दायाँ खुट्टा छिनिएको र क्षतविक्षत लास भेटियो। घरबाट जिउँदो भेट्ने आशा लिएर खोजीमा पुगेका हाम्रा आशा सधैँका लागि समाप्त भयो।’ मृतक दुवैको कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुरका अझै ११ जना नागरिक बाढीमा परेर सम्पर्कविहीन रहेको विवरण आफन्तहरूले बुझाएका छन्। नगरपालिकाले बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत तत्काल ५० हजार रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरी र परिवारका सदस्यहरूसहितको टोली प्रभावित क्षेत्रमा खटाइएको छ। साथै राहत तथा उद्धार सहयोगका लागि जनप्रतिनिधि र कर्मचारीको तीनदेखि सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय