सिरान्चोक गाउँपालिकाका वडा नम्बर ४ र ५ मा व्यावसायिक रूपमा कागती खेती विस्तार हुँदै गएको छ। स्थानीय कृषकहरूले करिब १३० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएका छन्।
सिरान्चोक–४ मा रहेको घिमिरे कृषि फर्मले मात्रै करिब ७० रोपनी क्षेत्रफलमा १ हजार ६ सय कागतीका बिरुवा लगाएको जनाएको छ। तीमध्ये हाल करिब ७ सय बोटले उत्पादन दिन सुरु गरेका छन्।
फर्मका अनुसार यहाँ उत्पादन हुने कागती रसिलो र गुणस्तरीय भएकाले बजारमा यसको मागसमेत राम्रो रहेको छ। उत्पादन बढ्दै जाँदा कागती खेतीबाट स्थानीय कृषकको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।
सिरान्चोक क्षेत्रमा कागती खेतीका लागि उपयुक्त वातावरण र बजारको राम्रो सम्भावना रहेकाले आगामी दिनमा व्यावसायिक कागती खेती थप विस्तार हुने कृषकहरूको विश्वास छ।







