काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ ।
यही भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो क्षति भएको छ । विपदबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले राहत सामग्री उपलब्ध गराउन लागेको हो ।राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । जहाज अवतरण गरेको केही समयपछि राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।विपद्को समयमा कतार सरकारले नेपाल र नेपाली जनताप्रति देखाएको सहयोग, सद्भाव तथा ऐक्यबद्धताका रूपमा उक्त राहत सामग्री उपलब्ध गराउन लागेको हो ।बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि विभिन्न मुलुक र सङ्घ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् ।







