काठमाडौँ। नेपाली कांग्रेसले बाढीपहिरो र डुबानका कारण सिर्जित राष्ट्रिय सङ्कटका बारेमा छलफल गर्न संसद् सुचारु गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने भएको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्को बैठक बोलाउन र जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन सभामुखसँग माग गर्ने निर्णय गरेको हो ।संसदीय दलको निर्णयअनुसार प्रमुख सचेतक वासना थापाले सभामुख डोलप्रसाद अर्यालसँग भेटका लागि समय मागेकी छन् । प्रमुख सचेतक थापाले दिएको जानकारीअनुसार सभामुखसँग मङ्गलवार बिहान भेट्ने तय भएको छ ।‘मुलुकमा ठुलो प्राकृतिक विपत्ति आएको छ, यस्तो बेला जनप्रतिनिधिहरूको आवाज राख्ने थलो संसद् बन्द हुनु हुँदैन,’ ‘लामो समय सदन चलाउन समस्या भए पनि कम्तीमा आकस्मिक र शून्य समय मात्रै भए पनि चलाउनुपर्छ भन्ने हाम्रो माग हो । यसले जिल्ला–जिल्लाका पीडितका समस्या सदनमार्फत सरकारसम्म पुर्याउन मद्दत गर्छ ।’
सभामुखसँग मङ्गलवार बिहान भेट्ने कुरा भए पनि समय भने अझै निश्चित भइसकेको छैन । समयको टुङ्गो सोमबार साँझसम्म लाग्ने प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
बाढी र पहिरोका कारण मुलुकभर ठुलो जनधनको क्षति भएपछि कांग्रेसले सदनमार्फत राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन दबाब दिने रणनीति अनुरूप सदन बोलाउनका लागि भेटेरै आग्रह गर्ने निर्णय कांग्रेसले संसदीय दलमार्फत गरेको हो ।







