काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहत कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सुरुङभित्र फसेकाहरूको उद्धारमा भएको ढिलासुस्तीप्रति भने आपत्ति प्रकट गरेको छ ।

प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आठौँ बैठकले विपद्को समयमा सबै राजनीतिक विमतिभन्दा माथि उठेर सरकारलाई सघाउने नीति तय गरेको छ । तर, बाढीका कारण सुरुङभित्र फसेका इन्जिनियर र श्रमिकहरूको उद्धारमा सरकारले देखाएको ‘अकर्मण्यता’ प्रति कांग्रेसले कडा आलोचना गरेको छ ।

कांग्रेसले सुरुङभित्र मानिसहरू फसेको संवेदनशील खबर थाहा पाउँदापाउँदै पनि सरकारले समयमै अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग नलिएको र निर्माण कम्पनीहरूलाई उद्धारको अनुमति दिन ढिलाइ गरेको आरोप लगाएको छ । ‘सुरुवाती २–३ दिनभित्रै विश्वका जुनसुकै कुनाबाट विज्ञ ल्याएर उद्धार गर्नुपर्नेमा सरकारले देखाएको व्यवहार गलत मात्र होइन, अन्ततः अमानवीय प्रमाणित हुँदैछ,’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले राहत वितरणलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीको सट्टा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी स्थानीय द्वार प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

कांग्रेसले विपद पछिको आवश्यकता आकलन तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको नेतृत्वमा विज्ञ टोली गठन गरेको छ । यो टोलीले एक महिनाभित्र पुनर्निर्माणको खाका सरकारलाई हस्तान्तरण गर्नेछ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय