अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन् । घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन् ।
अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन् । घाइते तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको छ ।
मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । संदिग्धको पहिचान र मृत्युको कारण तत्काल खुलाइएको छैन ।
प्रत्यक्षदर्शीहरूले गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको बताएका छन् । प्रहरीले घटनापछि लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो ।
मिनेसोटाका गभर्नर टिम वाल्जले स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले सहयोग गरिरहेको बताएका छन् । एफबिआई पनि अनुसन्धानमा संलग्न भएको छ ।







