काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछि शव व्यवस्थापन र अवरुद्ध सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी घिसिङले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या तथा प्रभावित क्षेत्रमा देखिएको जनआक्रोशबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा तथा जनप्रतिनिधिमा असन्तुष्टि देखिएको बताए ।

‘अब लाश व्यवस्थापनको विषयमा गम्भीर रूपमा सोच्नुपर्छ । लाश व्यवस्थापनमा अलिकति ढिलाइ भयो भन्ने आक्रोश छ,’ घिसिङले भने, ‘फिल्डमै गएर आएपछि त्यहाँका सबै कुरा र जुन आक्रोश हामीसँग व्यक्त भइरहेको थियो, त्यो कुरा पनि हामीले प्रधानमन्त्रीज्यूलाई राखेका छौँ ।’

अवरुद्ध सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै उनले सडक कनेक्टिभिटीलाई विशेष प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको बताए ।

‘अब सडक कनेक्टिभिटीलाई पनि, रोड कनेक्टिभिटीलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । त्यसलाई ढिलाइ गर्नु हुँदैन भन्ने कुरामा हामीले प्राथमिकता दिएर उहाँहरूलाई सुझाव दिएका छौँ,’ उनले भने ।

घिसिङले होल्डिङ सेन्टरमा आश्रित बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको अवस्था व्यवस्थापनबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए ।

होल्डिङ सेन्टरमा स्वास्थ्य तथा सामाजिक सुरक्षाको उचित व्यवस्था गर्नुपर्ने विषयमा गम्भीर छलफल भएको उनले बताए ।

‘बालबच्चादेखि महिला, वृद्धवृद्धासम्म हुनुहुन्छ । उहाँहरूलाई सामाजिक रूपमा र स्वास्थ्यको हिसाबले सबै हिसाबले व्यवस्थित कसरी बनाउने भन्ने विषय पनि एकदम गम्भीर रूपमा उठेको छ,’ उनले भने ।

प्रधानमन्त्री शाहले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौं ल्याएर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको घिसिङले बताए ।

‘बालबालिकाहरूलाई चाहिँ काठमाडौंमै ल्याएर राख्ने भन्ने प्रधानमन्त्रीज्यूले भर्खरै मेरै अगाडि भन्नुभएको छ,’ उनले भने ।

विपद्को पूर्वतयारीमा कमजोरी रहेको स्वीकार गर्दै घिसिङले अहिलेको संकट समाधानका लागि सरकारसँगै सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

‘हाम्रो जुन किसिमको प्रिपेयर्डनेस हुनुपर्ने हो, त्यो प्रिपेयर्डनेस नभएर पनि यो ठूलो किसिमको डिजास्टर आएको छ । त्यसले गर्दा ल्याप्सहरू त भएकै छन्,’ उनले भने, ‘त्यो ल्याप्सलाई करेक्सन गरेर अब सबैले एकताबद्ध भएर समाधानतिर कसरी लैजाने भन्ने विषयमा हामी पनि लाग्नुपर्छ ।’

विपद्को यो घडीमा सरकार गम्भीर भएर काम गर्नुपर्ने र सबै पक्षले जिम्मेवार रूपमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय