पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ।
भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा थुप्रिएको अवरोध हटाएर मर्मत गरिएको हो। मर्मतका लागि शनिबार, आइतबार र सोमबार बिहानदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो। मर्मत सम्पन्न भएपछि सोमबार रातिदेखि उक्त खण्डमा दुईतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताए।
परेवाभीर खुले पनि पृथ्वी राजमार्गकै चरौँदी नदीस्थित कृष्णभीरमा क्षतिग्रस्त सडक खुलाउने काम जारी छ। बाढीले सडकको ठूलो भागमा क्षति पुर्याएपछि उक्त स्थानमा नयाँ ट्र्याक खोल्ने तथा सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ।
नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार कृष्णभीरमा सडक खुलाउन आज पाँचौँ दिन नौवटा मेसिन परिचालन गरिएका छन्। कामको अवस्था र मौसम अनुकूल रहे करिब १५ दिनभित्र सडक सञ्चालनमा ल्याउन सकिने अनुमान रहेको उनले बताइन्।
उनका अनुसार करिब ३०० मिटर लम्बाइ र ४० मिटर उचाइको भागमा कटिङ गर्नुपर्ने भएकाले काम चुनौतीपूर्ण छ। ‘तर पनि काम निरन्तर गरिरहेका छौं,’ अधिकारीले भनिन्।
यता नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा पनि पहाड काट्ने तथा पहिरो रोकथामसम्बन्धी कामका लागि भदौ २२ गतेदेखि निर्धारित समयमा सवारी आवागमन आंशिक रूपमा बन्द गर्ने व्यवस्था गरिएको छ। यसले काठमाडौं(चितवन हुँदै पश्चिम नेपालतर्फको आवागमनमा थप चुनौती थपेको छ।
एकातर्फ बाढीपहिरोका कारण पृथ्वी राजमार्गका विभिन्न खण्ड प्रभावित छन् भने अर्कोतर्फ नारायणगढ(मुग्लिन सडकमा पूर्वनिर्धारित निर्माण कार्यका कारण निश्चित समयमा सवारी रोकिने अवस्था छ। एउटा प्रमुख सडकखण्डमा समस्या हुँदा वैकल्पिक मार्गमा बढेको सवारी चापले अर्को सडकको आवागमनसमेत प्रभावित हुने अवस्था देखिएको छ।
राजमार्गमा देखिएको अवरोधको असर यातायातमा मात्र सीमित छैन। काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत यसको प्रभाव परेको छ।
विशेषगरी खाद्यान्न, ताजा तरकारी तथा खाना पकाउने एलपीजी ग्यासको ढुवानी प्रभावित भएको छ। वैकल्पिक मार्गबाट केही मात्रामा ग्यास भित्र्याइए पनि धादिङमा रहेका अधिकांश ग्यास रिफिल सेन्टरबाट नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था देखिएको छ।
ग्यासको आपूर्ति प्रभावित हुँदा केही होटल तथा रेस्टुरेन्टको सञ्चालनमा समेत समस्या परेको छ। पृथ्वी राजमार्गका अवरोध लामो समय कायम रहेमा ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत थप दबाब पर्न सक्ने देखिन्छ।
परेवाभीरमा दुईतर्फी सवारी सञ्चालनमा आएपछि राजमार्गको एउटा महत्त्वपूर्ण अवरोध हटेको छ। तर कृष्णभीरमा सडक पुनः सञ्चालनमा ल्याउने काम र तुइन खोलामा जारी निर्माण कार्य पूरा नभएसम्म काठमाडौं(चितवन(मुग्लिन हुँदै पश्चिम नेपालतर्फको यात्रा पूर्ण रूपमा सहज हुने अवस्था भने देखिएको छैन ।







