काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए।
प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उहाले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताए। एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उनको भनाइ छ।
उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरे। सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार तासको घर जस्तै ढल्ने चेतावनी समेत दिए।
सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अङ्गका रूपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएको प्रति कडा विरोध गर्दै गल्ती भए कारबाही गर्न तर धम्कीको शासन नचलाउन सुझाव दिए। सरकार संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्ने र सांसदहरूले जनताको तर्फबाट ’वाच डग’ को रूपमा खबरदारी जारी राख्नुपर्ने उनको भनाइ छ।






