काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बैङ्गलौर निवासी ३६ वर्षीय जगदिश मोहन राव रहेका छन्।भदौ २३ गते नेपाल वायुसेवा निगमको उडान नम्बर आरए२२५ मार्फत काठमाडौँबाट बैङ्गलौरतर्फ प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको ब्यागेज चेकिङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। एक्स-रे ब्यागेज चेकजाँच गर्ने क्रममा उनीबाट स्रोत नखुलेको ६ लाख ३५ हजार भारतीय रुपैयाँ, ६३५ चिनियाँ युआन, १० हङकङ डलर, ११ लाख ८६ हजार भियतनामी दोड र १७० थाइल्यान्ड भाट बरामद भएको छ।अवैध रूपमा लुकाइछिपाई लैजान लागेको उक्त विदेशी मुद्रासहित पक्राउ परेका उनलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।






