काठमाडौं । मलेसियाको वायुमास ओभलमा शुक्रबार हुने एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई उपाधिसँगै एसिया कप टिकटका लागि भिड्दै छन् । तर दुवै टोलीको सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी होइन, वर्षा बन्न सक्ने देखिएको छ ।

मौसम पूर्वानुमानअनुसार खेल हुने दिन बिहानदेखि हल्का वर्षा र दिनभर मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । तापक्रम २५ देखि ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने दिउँसो वर्षाको जोखिम उच्च रहने देखिएको छ ।

एसीसीको प्रतियोगिता नियमावलीअनुसार फाइनलका लागि कुनै रिजर्भ डे राखिएको छैन । त्यसैले वर्षाका कारण खेल सुरु हुन नसके वा नतिजा निकाल्ने गरी पूरा हुन नसके समूह चरणको प्रदर्शनका आधारमा यूएईलाई विजेता घोषणा गरिनेछ ।

यूएईले समूह ‘बी’ मा चारैवटा खेल जितेर अपराजित रूपमा शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्दै फाइनल पुगेको हो । जबकि नेपाल समूह ‘ए’ मा चार जित र एक हारको नतिजा निकालेको थियो ।

नेपालले यसअघि पहिलो संस्करणको प्रिमियर कपमा यूएईलाई नै हराएर उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । यसपटक पनि लक्ष्य त्यही इतिहास दोहोर्‍याउने भए पनि त्यसका लागि मौसमले साथ दिनु उत्तिकै आवश्यक देखिएको छ ।

एसीसी प्रिमियर कपको एकदिवसीय फर्म्याटको पछिल्लो संस्करण नेपालमै भएको थियो । त्यसबेला भने रिजर्भ डेको प्रावधान थियो । वर्षाका कारण बारम्बार अवरुद्ध भएको खेल भोलिपल्ट त्यही बिन्दुबाट सुरु हुने गरी स्थगित भएको थियो ।

मलेसियामा सेप्टेम्बर महिनामा दिउँसो र साँझतिर वर्षा सामान्य हुने भएकाले खेलको प्रत्येक ओभर महत्त्वपूर्ण बन्न सक्ने अनुमान गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय