काठमाडौं : इन्डोनेसियामा २४३ जना यात्रु बोकेको जहाजसँग सम्पर्क विच्छेद भएपछि व्यापक रूपमा खोजी तथा उद्धार कार्य सुरु गरिएको छ।
अधिकारीहरूका अनुसार ‘विर्गो ट्रान्सपोर्ट-८’ नामको उक्त जहाज सुराबायाबाट दक्षिण कालिमन्तानको बन्जारमासिन शहरतर्फ गइरहेको थियो। आइतबार बिहानै यात्राका क्रममा फेरीले खराब मौसमको सामना गर्नुपरिरहेको खबर पठाएको थियो।
खराब मौसमको सूचना पठाएलगत्तै फेरीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको हो। खोज तथा उद्धार एजेन्सीका अनुसार हालसम्म फेरीसँग कुनै सम्पर्क हुन सकेको छैन भने त्यसको पछिल्लो स्थिति समेत पत्ता लाग्न सकेको छैन।अधिकारीहरूका अनुसार उक्त जहाजको अन्तिम लोकेशन जाभा सागरमा रेकर्ड गरिएको थियो। रेस्क्यु एजेन्सीले ६ सदस्यीय उद्धार टोलीलाई फेरीको अन्तिम लोकेशनसम्म पुग्न करिब पाँच घण्टा लाग्ने जनाएको छ। टोलीलाई द्रुत गतिमा घटनास्थलतर्फ पठाइएकाे छ।





