काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबिच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ब्रिक्स प्लस देशहरूको दिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको बताएका हुन् ।

नेपालजस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको तथा दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको अल्पविकसित देशले अब कुनै द्विविधामा नरही त्यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्ने भट्टराईको भनाइ छ ।

उनले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्दा देश अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको भन्दै त्यसबाट सिक्नुपर्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपतिले द्विपक्षीय वार्ताका क्रममा प्रयोग गरेका ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ भन्ने शब्दको निहितार्थ तथा भारतको अगुवाइमा सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशावोध नेपालले बुझ्नुपर्ने उनले उल्लेख गरेका छन् ।

भट्टराईले उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल नगरी नेपालजस्ता सापेक्ष रूपमा साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न नसक्ने बताएका छन् ।

आगामी दिनमा चीन र भारतबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्यको लाभ उठाउन नेपालले कुशल कूटनीतिक प्रयास गर्नुपर्ने उनको सुझाव छ । त्यसका लागि नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’मा रूपान्तरण गर्ने कार्यको योजनाबद्ध सुरुआत आजैदेखि गर्नुपर्ने उनले बताएका छन् ।

अन्यथा ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ भन्ने परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न नेपाल अभिशप्त हुने भट्टराईले चेतावनी दिएका छन् ।

उनले नेपालका युवा सत्ताधारीहरूको यसतर्फ समयमै ध्यान जानुपर्ने बताएका छन् ।

https://www.facebook.com/share/p/1FB8UnWdec/

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय