काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को प्रत्यक्ष सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।
लगानीकर्ताको मनोबल उच्च बन्दा नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ४८.५७ अङ्क अर्थात १.८७ प्रतिशतले वृद्धि भई २ हजार ६३३.६२ विन्दुमा पुगेको छ ।बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । मङ्गलबार बजारमा ३४७ वटा कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर कुल ७८ हजार ८६९ पटक किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँभन्दा बढी को कारोबार भएको छ। सोमबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । सरकारको नयाँ कार्ययोजनाले लगानीकर्तामा उत्साह भरेपछि बजारमा खरिदकर्ता हाबी भएका छन् । जसअनुसार कारोबारमा आएकामध्ये २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १२ वटा कम्पनीको मूल्यमा मात्र गिरावट आएको छ । १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
मङ्गलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै,सिन्धु विकास बैंकको सेयर मूल्य ११ प्रतिशत बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू आकर्षित भएका हुन्।
त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।








