काठमाडौँ । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका नयाँ तथ्यांकअनुसार ४३ वर्षीय झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन् ।
झाङको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको बताइएको छ । पछिल्लो समय एआई प्रविधिमा झाङको प्रविधि कम्पनी ‘बाइटडान्स’को विस्तार र तथा मूल्याङ्कन बढेसँगै उनको सम्पत्तिमा तीव्र वृद्धि भएको हो ।ब्लुमबर्गका अनुसार ब्ल्याकरक, फिडेलिटी इन्भेस्टमेन्ट्स र टी रो प्राइसजस्ता ठुला लगानी संस्थाहरूले ‘बाइटडान्स’को मूल्याङ्कन परिमार्जन गरेपछि झाङको व्यक्तिगत सम्पत्ति यो महिनामात्रै १२ अर्ब डलरभन्दा बढी बढेको हो । सन् २०१९ को मार्चमा उनको सम्पत्ति करिब १३ अर्ब डलर रहेकोमा अहिले त्यसको आठ गुणाभन्दा बढी पुगेको छ ।
- अडानीको सम्पत्ति घट्यो
यसैबीच भारतीय उद्योगपति गौतम अडानीको सम्पत्तिमा पछिल्ला महिनामा बजारको उतारचढावको असर परेको छ । जुन महिनामा अडानीको कुल सम्पत्ति करिब १२० अर्ब डलर पुगेको थियो ।
तर एमएससीआई इन्डेक्समा भएको पुनर्सन्तुलन, कच्चा तेलको मूल्यमा वृद्धि र बन्डको प्रतिफल बढ्दा बजारमा बिक्रीको दबाब सिर्जना भएको थियो । यसको असर अडानी समूहका कम्पनीको सेयर मूल्यमा परेको र उनको कुल सम्पत्ति घटेको समाचारमा उल्लेख छ ।
अडानीको व्यवसाय ऊर्जा, पूर्वाधार, बन्दरगाहदेखि खुद्रा व्यापारसम्म फैलिएको छ । झाङको सम्पत्तिको ठुलो आधार भने प्रविधि र डिजिटल व्यवसाय हो ।
- टिकटकभन्दा अघि एआईमा ठुलो लगानी
झाङ यिमिङले बाइटडान्समार्फत विश्वव्यापी सफलता हासिल गरेका हुन् । बाइटडान्सकै उत्पादन टिकटटक विश्वकै लोकप्रिय सामाजिक सञ्जालमध्ये एक हो ।
तर पछिल्लो सम्पत्ति वृद्धिमा टिकटकभन्दा एआई व्यवसायको विस्तार महत्वपूर्ण देखिएको छ । बाइटडान्सले चीनमा ‘डौबाओ’ एआई च्याटबट तथा ‘सीडान्स’ भिडियो निर्माण गर्ने एआई उपकरणजस्ता उत्पादन विकास गरेको छ ।
अनुसन्धान संस्था ओमडियाका मुख्य विश्लेषक लियान जे सूका अनुसार बाइटडान्ससँग रहेको ठुलो सामाजिक सञ्जाल डेटा एआई मोडल विकासका लागि महत्वपूर्ण स्रोत बनेको छ । उनका अनुसार कम्पनीले भिडियो प्लेटफर्मको व्यवसायभन्दा बाहिर एआईलाई आफ्नो नयाँ वृद्धि क्षेत्रका रूपमा अघि बढाइरहेको छ ।
- टेक क्षेत्रमा सम्पत्ति सिर्जनाको गति
झाङको सम्पत्तिमा आएको वृद्धिले एसियाका अर्बपतिको सूचीमा प्रविधि क्षेत्रको बढ्दो प्रभाव पनि देखाएको छ । परम्परागत रूपमा ऊर्जा, पूर्वाधार र खुद्रा व्यापारजस्ता क्षेत्रमा आधारित व्यवसायले एसियाली अर्बपतिहरूको सम्पत्तिमा ठुलो हिस्सा ओगट्दै आएका थिए ।
तर एआई, डिजिटल प्लेटफर्म, डेटा र प्रविधिमा आधारित कम्पनीहरूको मूल्याङ्कन तीव्र रूपमा बढ्दा प्रविधि क्षेत्रका संस्थापकहरूको सम्पत्तिमा पनि ठुलो वृद्धि देखिएको छ ।
बाइटडान्स र झाङका लागि भने चुनौती पनि छन् । विशेषगरी अमेरिकामा टिकटटकलाई लिएर लामो समयदेखि नियामकीय तथा भूराजनीतिक विवाद रहँदै आएको छ । यसबीच बाइटडान्सले अमेरिकी व्यवसायको केही हिस्सा अमेरिकी लगानीकर्तातर्फ स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
चीनको घरेलु एआई बजारमा बढ्दो प्रतिस्पर्धा पनि बाइटडान्सका लागि अर्को चुनौतीका रूपमा देखिएको छ । यद्यपि चीनले एआई प्रविधिमा ठुलो लगानी जारी राखेकाले बाइटडान्सको एआई विस्तारका लागि थप अवसर सिर्जना हुन सक्ने विश्लेषण गरिएको छ ।








