काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा फिर्ताको विषय आजको भोलि टुङ्गिने विषय नभएको बताएका छन् । बुधबार अलुम्नाईको बैठकमा बोल्दै  त्रिवि उपकुलपति प्रा.डा.थापाले यो कार्य १–२ महिनामा नसकिने र वर्षौँसम्म निरन्तर लाग्नुपर्ने दीर्घकालीन विषय भएको बताएका हुन् ।

थापाले भने, ‘यो १ महिना, २ महिना, ६ महिनाको कुरा होइन होला। यो वर्षौँ वर्ष लाग्ने र वर्षौँ वर्षसम्म यो कन्टिन्यु काम गरिराख्नुपर्ने विषय पनि हो । किनभने सायद यो देशमा कुनै संस्था सबैभन्दा बढी अ जग्गाको धनी छ भने त्यो सरकारपछि त्रिभुवन विश्वविद्यालय नै होला । त्यसकारण यसको जिम्मेवारी बढी छ ।’

उनले विश्वविद्यालयका जग्गाहरू बाँझो नराखी प्रभावकारी रूपमा उपयोग गरिने आश्वासन दिए । विश्वविद्यालयको स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण, फिर्ता र समुचित उपयोगलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले विश्वविद्यालय बाहिरका व्यक्ति वा सङ्घ–संस्थाहरूले प्रयोग गर्दै आएका जग्गाहरू सम्झौताको म्याद सकिएसँगै छलफल गरी त्रिविकै पूर्ण नियन्त्रणमा ल्याइने बताए । देशमा सरकारपछि सबैभन्दा बढी जग्गा रहेको संस्था त्रिवि नै भएको चर्चा गर्दै उनले सार्वजनिक जग्गामा हुने सुकुमबासी समस्याजस्तो जटिलता नरहेकाले द्विपक्षीय वा त्रिपक्षीय समझदारीमार्फत समस्या समाधान गरिने स्पष्ट पारे ।

उपकुलपति थापाले जग्गा फिर्ता ल्याउनु मात्र ठूलो कुरा नभई त्यसलाई आफ्नै मातहतमा व्यवस्थित तरिकाले राखिराख्नु प्रमुख चुनौती रहेको बताए । हालको प्रशासनिक संरचना र सीमित कर्मचारीको भरमा देशभरि फैलिएको जग्गाको रेखदेख तथा व्यवस्थापन सम्भव नभएकाले बलियो प्रशासनिक संयन्त्र निर्माण गर्न कोसिस गरिने उनको भनाइ थियो ।

सरकारले सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार विश्वविद्यालयको ५ हजार ५० रोपनीभन्दा बढी जग्गामध्ये तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा, २ हजार रोपनीभन्दा बढी जग्गा निजी तथा धार्मिक गरी १८ वटाभन्दा बढी सङ्घ संस्थाले मिचेर रजाइँ गरिरहेको पाइएको थियो ।

विशेषगरी कीर्तिपुरको ३ हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि विभिन्न संस्थाले भोग चलन गर्दा मुस्किलले दुई हजार पाँच सय रोपनी मात्र प्रयोगमा रहेको अवस्थालाई ध्यानमा राख्दै उपत्यका बाहिरका जग्गाहरूको समेत खोजबिन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय