काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘हाल नयाँ ट्र्याकमार्फत सडक दुईतर्फी सञ्चालनमा आउनु विपद्बाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्त्वपूर्ण उपलब्धि हो । तर, कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ ।’
घिसिङले विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्ने बताए ।
साथै, सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई पनि प्रामिकताका साथ अगाडि बढाउनुपर्ने उनले जोड दिए ।
मुलुकले ठूलो विपद्को सामना गरिरहेको कठिन समयमा सडक सुचारु गर्न अहोरात्र खटिएका सबै पक्षलाई धन्यवाद दिँदै अध्यक्ष घिसिङले प्रतिकूल मौसम, जोखिमयुक्त भूगोल र निरन्तर चुनौतीका बाबजुद फिल्डमै रहेर निरन्तर काम गर्नेहरूप्रति प्रशंसा समेत गरेका छन् ।
विपद्का बेला समयमै जुट्ने यस्तै सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई ठूलो राहत र भरोसा प्रदान गर्ने भन्दै उनले सबैको निरन्तर समन्वय, सक्रियता र प्रतिबद्धताबाट बाँकी प्रभावित सडक तथा पूर्वाधारहरू पनि यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।
१४ भदौमा त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर खण्डमा सडक कटान भएपछि यो राजमार्ग अवरुद्ध थियो । नयाँ ट्र्याक खोलेर १८ दिनपछि आज मात्रै यो राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
साथै बट्टारदेखि बेत्रावति हुँदै धुन्चे स्याप्रुबेसीसम्म मोटर बाटो छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको उनले ध्यानाकर्षण पनि गएका छन् ।








