काठमाडौँ। वातावरण विज्ञ प्रा. डा. छत्रमणि शर्माले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान दिए पनि जलवायु परिवर्तनको ठुलो असर भोगिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ (जलवायु न्याय) माग गर्नुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका प्रमुखसमेत रहेका शर्माले यस्तो धारणा राखेका हुन्।जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्कले हिमाली क्षेत्रमा गम्भीर असर परिरहेको तथ्य स्थापित गरिसकेको उनले उल्लेख गरे। गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीसमेत जलवायु परिवर्तनकै असर भएको कुरामा दुईमत नरहेको उनले स्पष्ट पारे। जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखिन थालेकाले यसलाई भविष्यमा निम्तिनसक्ने खतराका रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ। शर्माले जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया भए पनि पछिल्लो समय यसको गति तीव्र भएकाले त्यससँग अनुकूलन गर्न कठिनाइ भइरहेको बताए।

हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्षमै हुँदा विश्वजगत यससँग घुलमिल हुन नसकेको उनले जानकारी दिए। औद्योगिकीकरणपछि मानवीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन बढेकाले जलवायु परिवर्तनको प्रभाव तीव्र बनेको उनले बताए। विश्वका सबै देशले समान मात्रामा हरितगृह ग्यास उत्सर्जन नगरेको भए पनि त्यसको असर भने समान रूपमा भोगिरहेको उनले उल्लेख गरे।

बैठकमा बोल्दै प्रा. डा. शर्माले भने, ‘जलवायु परिवर्तनको असर भविष्यमा पर्छ भनेर हामी सचेत मात्र हुने अवस्था छ। जलवायु परिवर्तनको कारण विपत्तिहरू देखिन थालिसकेका छन्। आईपीसीसीले नै काम गर्न थालेको १९८८ देखि हो। डेटा संकलन गरेर क्लाइमेट चेन्ज भइरहेको छ, यसले विभिन्न प्राकृतिक वितण्डा मच्चाइरहेको छ भन्ने कुरा त स्थापित भइसकेको कुरा हो।’

असर प्रत्यक्ष देखिइसकेको उल्लेख गर्दै उनले थपे, ‘२१औँ शताब्दी सकिँदा यस्तो हुन्छ भन्ने कुरा त छँदैछ। तर यो कुरा आजको रियालिटी नै भइसक्यो। जलवायु परिवर्तनको असर भिजिवल भइसक्यो। हिमालयमा हामीले नै देखिसक्यौँ, १० भदौको रसुवाको भोटेकोशी बाढी पनि त्यसमा जोड्न सकिन्छ। क्लाइमेट चेन्ज नेचुरल फेनोमेनन हो। यस्ता ग्लेसियर त हजारौँ वर्ष पहिले पनि पग्लिसकेका थिए भन्ने हुन्छ। तर अहिलेको वास्तविक कुरा के हो भने हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्ष वा सय वर्षमा भयो भने हामी एडप्ट हुन सक्दैनौँ। अहिलेको समस्या त्यो हो।’

हरितगृह ग्यास र त्यसको असरबारे बोल्दै उनले भने, ‘विश्वभर औद्योगिकीकरणपछि जुन मानवीय क्रियाकलाप भएका छन्, त्यसले ग्रिन हाउस ग्यासहरू निकालिराखेका छौँ। त्यही कारण जलवायु परिवर्तनको असर धेरै पर्न थालेको हो भन्ने कुरा क्लियर छ। हामी सबैले समान रूपमा त ग्रिन हाउस ग्यास उत्पादन गरेका छैनौँ।’

प्रा. डा. शर्माले नेपालको हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण हिमालहरू जोखिममा परेको भन्दै यसतर्फ समयमै ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय