काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाका अन्तिम दिन निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा कार्यक्रम स्थलमा पुगेका छन् ।
गत साउन २९ गते शुक्रबार भेलाको उद्घाटन सत्रमा सहभागी भएका देउवा शनिबारको सत्रमा भने गएनन् । आज समापनको दिन उनी पुनः कार्यक्रम स्थलमा पुगेका हुन् । भेलाको अन्तिम दिनको कार्यक्रममा देउवा पुगेका निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न आयोजना गरिएको यस भेलामा देशभरका जिल्ला सभापति, क्षेत्रीय सभापति र भ्रातृ सङ्गठनका प्रतिनिधिहरूको सहभागिता छ।आजै अपराह्न आयोजना गरिने पत्रकार सम्मेलनमार्फत भेलाले पारित गरेका समसामयिक प्रस्तावहरू र निष्कर्ष सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ।






