काठमाडौं । बाराको पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै पीडित परिवार र स्थानीयले २४ घण्टादेखि सडक अवरोध गरेका हुन्।
कानुन संशोधन गरेर घटनामा संलग्नलाई कडा कारबाही, जिम्मेवार प्रहरी कर्मचारीमाथि कारवाहीलगायतका माग राख्दै स्थानीय आन्दोलित बनेका हुन् । स्थानीयको प्रदर्शनका कारण उक्त सडकखण्ड बुधबार बिहान ११ बजेदेखि ठप्प छ । पथलैया, सिमरा, जीतपुर, डुमरवानामा पनि स्थानीयले टायर बालेर घटनाको विरोध गरिरहेका छन् ।






