काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । दुवै जनाले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुई वटा रिट आएको छ । ‘कांग्रेस महाधिवेशनसँग सबन्धित दुई वटा फरक(फरक प्रकृतिको रिट आएको छ, प्रवक्ता कोइरालाले रातोपाटीसँग भने, शेरबहादुर देउवाले महाधिवेशन रोक्न माग गर्दै रिट आएको छ भने पूर्णबहादुर खड्काको पुरक निवेदनको रुपमा यसअघिको पुनरावलोकन मुद्दामासँगै राखि पाउ भनी रिट आएको छ । रिट अहिले अध्ययनकै क्रममा रहेको प्रवक्ता कोइरालाले बताए ।केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै कांग्रेस केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशन तालिका जारी गरेको थियो ।






