कर्णालीमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपाभित्र) को कचिङ्गल अब पार्टी हेडक्वार्टरले मिलाउने भएको छ ।
तीन मन्त्री छनोटमा सकस परेपछि मिलाइदिन केन्द्र गुहार गरिएको हो । नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले सरोकारवाला सबैलाई ११ बजे शपथ कार्यक्रममा उपस्थितका लागि जानकारी गराइसकेको थियो । मुख्यमन्त्री शाहीले १० बजेसम्म पनि नियुक्त गर्नुपर्ने व्यक्तिका नाम सिफारिस गर्न सकेनन् । पछि एक्कासि मुख्यमन्त्री शाही नै प्रदेश प्रमुखको कार्यालयमा पुगेर कार्यक्रम रोकिदिन आग्रह गरे । ‘पार्टीमा कुरा मिलेन केही दिनका लागि पछाडि सार्नुपर्ने भयो,’ मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसँग भने । शपथ ग्रहणको यकिन समय भने तोकिएको छैन । सोमबार नेकपाबाट विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काले मन्त्रीको शपथ लिने चर्चा नेकपाभित्र थियो । स्रोतका अनुसार, मन्त्री हुने सांसद शपथका लागि तयार भइसकेका थिए तर रोकियो ।मुख्यमन्त्री शाही नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री बनेका थिए । दुई साझेदार दलबिच मन्त्रालयको भागबन्डा मिलेपछि भदौ ३ गते एमालेबाट ३ जना मन्त्री नियुक्त गरिए । तर मुख्यमन्त्रीकै दल नेकपाले मन्त्री छान्न सकेन । नेकपाभित्र कुरा नमिल्नुको प्रमुख कारण–साबिकका दुई धारबिच मन्त्री बन्न चलेको रस्साकसी हो । १३ सिट रहेको नेकपाभित्र साबिक समाजवादीबाट समानुपातिक सांसद कल्याणी खड्का छिन् । उनी जसरी पनि आफू मन्त्री बन्नुपर्छ भन्ने लाइनमा छिन् । अर्कातर्फ नेकपा साविक माओवादीभित्रैबाट मन्त्री बनाउन चाहन्छ । तर साविक माओवादीभित्रै अधिकांश सांसद मन्त्रीका आकाङ्क्षी छन् ।
यही बिचमा कुरा नमिलेपछि आकाङ्क्षी ७ जनाको नाम हेडक्वाटरमा टिपाइएको नेकपा प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताए । ‘७ जना जतिको नाम माथि संयोजक र सह–संयोजक कहाँ पठाइएको थियो,’ उनले भने, ‘तर बिहान शपथ तोकिएको समयमा फाइनल लिस्ट आएन, उहाँहरूले नै अहिले रोक्नुहोस् भनेपछि रोकिएको हो ।’
उनका अनुसार ३ वटा मन्त्रीको छनोट अब केन्द्रबाट प्रचण्ड–माधवले नै लगाएर पठाउनेछन् ।
भागबन्डाअनुसार नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कृषि मन्त्रालय र उद्योग, पर्यटन मन्त्रालय परेका छन् ।
समाजवादीको अड्डीले तनाव !
हाल नेकपाको प्रदेश इन्चार्ज साबिक समाजवादीका चन्द्रबहादुर शाही छन् । उनले नै साबिक समाजवादीबाट खड्का मन्त्री बन्नुपर्ने अड्डी कसेका छन् । ‘एकताको काम भइराख्या छ, सम्मानजनक उपस्थिति त चाहियो नै हैन,’ उनले भने । साबिक माओवादी धारले साबिक समाजवादीकै कारण सोमबार शपथ रोकिएको दाबी गरेको छ । साबिक समाजवादीकी सांसद कल्याणी खड्काले आफूलाई यो विषयमा केही थाहा नभएको बताइन् ।
‘मलाई केही थाहा छैन, मन्त्री बन्न योग्य र क्षमता हामीसँग छ नै,’ उनले भनिन् । अर्कातर्फ साबिक माओवादीभित्र यसअघि ‘फेलियर’ भइसकेका सांसद पनि मन्त्री बन्छु भन्दै बार्गेनिङमा लागेकाले तनाव भएको एक सांसद बताउँछन् ।






