रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका १७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका छन् ।

हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पर्साको पोखरिया नगरपालिका-५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका-१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता सम्पर्कमा आएका प्रवक्ता ढकालले बताए ।त्यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका-१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका-६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव, इञ्जिनियर विपीनकुमार मण्डल र धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार सम्पर्कमा आएका छन् । उहाँका अनुसार सिरहाको गोलबजार नगरपालिका-१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत सम्पर्कमा आएका छन् ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उनले बताए ।

मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय