काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ ।
कन्सर्टबाट उठेको रकम भोटेकोशी बाढी पीडितको लागि प्रदान गरिएको जानकारी गायक विवेक श्रेष्ठले दिए ।कन्दराले कूल १३ लाख ६७० डलर (२१ लाख रुपैयाँ) रकम प्रधानमन्त्री कोषमा प्रदान गरेको हो । कन्सर्ट सकिए लगत्तै ब्यान्डका तर्फबाट गायक श्रेष्ठले उक्त रकम प्रधानमन्त्री कोषको क्यूआरमार्फत ट्रान्सफर गरेका थिए ।
भोटेकोशी बाढीको घटनापछि ब्यान्डले एटलान्टा कन्सर्टलाई ‘ट्रिब्यूट कन्सर्ट’को रुपमा परिवर्तन गरेको थियो ।
यतिबेला कन्दरा आफ्नो ‘रिदम अफ चेन्ज’ टूरअन्तर्गत अमेरिकामा छ । यसपछि भर्जिनिया र कोलोराडोको डेनभरमा प्रस्तुति दिने तयारी छ ।
‘शोकलाई शक्तिमा, संगीतलाई सेवामा’ भन्ने भावनासहित पूर्वनिर्धारित कन्सर्टलाई राहत तथा सहयोग अभियानमा परिणत गर्ने निर्णय ब्यान्डले गरेको थियो ।







