काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वय गर्दै राहत र उद्दारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वयबिना समस्या समाधान हुन नसक्ने भएकाले एकीकृत रूपमा अघि बढ्न सरकारलाई सुुझाव दिएका हुन् ।बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यानाकर्षण गराइन्। टनेल रेस्क्यु प्रविधि, आवश्यक आधुनिक उपकरण तथा दक्ष जनशक्तिसहितको विशेष उद्धार टोली तत्काल कार्यक्षेत्रमा परिचालन गरिनुपर्ने उनले बताइन् ।उनले फेला परेका शवहरूको पहिचान र व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई प्रतिपक्षीजस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने धारणा राखे । गृहमन्त्री आफैँ फिल्डमा खोजतलास र टनेलमा अल्झिनुभन्दा सुरक्षा निकायहरूसँग समन्वय, विदेशी संघ–संस्थासँग सहकार्य, र राहत सामग्रीको प्रभावकारी व्यवस्थापनमा केन्द्रित हुनुपर्ने उनले बताए ।
त्यस्तै राष्ट्रियसभा सदस्य प्रेम प्रसाद दंगालले अहिलेको चूनौति सामना गर्न राष्ट्रिय एकताका साथ अघि बढ्न सरकारलाई सुझाव दिए । उनले बेपत्ताको खोजी, नागरिकको उद्दार र राहतलाई प्रभावकारी बनाउन राज्यका सवै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
उनले पुनर्निर्माण र पुनस्र्थापनाका लागि नोक्सानी तथा आवश्यकताको सही र यथार्थ तथ्याङ्क संकलन गर्नुपर्ने धारणा राखे । विस्थापित समुदाय तथा परिवारहरूलाई भविष्यमा आउन सक्ने विपद्बाट सुरक्षित हुने गरी एकीकृत बस्ती निर्माण गरेर व्यवस्थित पुनस्र्थापना गर्नुपर्ने उनले बताए ।







