काठमाडौं । रामेछापमा भएका लुटपाट तथा चोरीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। खाँडादेवी गाउँपालिका–२ स्थित मझुवामा भएको डाँकाचोरी र सुनापति गाउँपालिका–२ स्थित दिमीपोखरीमा भएको चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ।
सो घटनामा संलग्न आरोपमा पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख घर भएका २५ वर्षीय सुमन जर्घामगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक घर भएका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका घर भएका ३८ वर्षीय गुणराज विश्वकर्मा उर्फ दीपक छन्। आरोपीहरूको साथबाट लुटिएको नगद र घटनास्थलमा प्रयोग भएको सामग्री बरामद गरिएको डीएसपी जैसवारले जानकारी दिए।लुटपाटमा संलग्न सुमन जर्घामगर काठमाडौंको एउटा निजी विद्यालयका सवारी चालक र दीर्घराज बसका सहचालक हुन्। अर्का आरोपी पशुपति श्रेष्ठ काठमाडौंमा बसेर राइड सेयरिङको काम गर्दै आएका थिए। उनीहरूले समूह बनाएर मध्यराति रामेछाप पुगेर योजनाबद्ध रूपमा लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई भदौ २० गते भक्तपुरबाट पक्राउ गरिएको डीएसपी जैसवारले बताए।
आरोपीहरू यसअघि पनि रामेछापको खाँडादेवीमा भएका चोरी तथा लुटपाटका घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनापति गाउँपालिका–२ स्थित दिमीपोखरीमा ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ नगद चोरीमा संलग्न दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। भदौ १८ गते भएको चोरीमा संलग्न सुनापति गाउँपालिका–२ घर भएका ३४ वर्षीय आकाश लामा र १९ वर्षीय सन्दीप तामाङलाई पक्राउ गरिएको डीएसपी जैसवारले जानकारी दिए।
ताल्चा लगाएको घर फोडेर उनीहरूले वृद्धभत्ताबापतको रकम चोरेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बिहान करिब ६ बजेतिर उनीहरू घरमा प्रवेश गरी चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
दुवै घटनामा संलग्न आरोपीहरूमाथि अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







