वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटोछरितो र झन्झटमुक्त बनाउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरेको छ । रोजगारदाता मुलुकबाट हुने माग प्रमाणीकरणका लागि आवश्यक थप कागजातको विवरण रोजगारदातालाई एकमुष्ट रूपमा उपलब्ध गराउन र कानुनले तोकेको समयसीमाभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निर्देशनअनुसार अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले माग प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा यदि कुनै थप कागजात आवश्यक परेमा नियोगले त्यसको सूची एकैपटक रोजगारदाता कम्पनीलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने भएको छ । यसअघि नियोगहरूले पटक–पटक थप कागजात माग गर्दा प्रक्रिया लम्बिने र रोजगारदाता कम्पनीहरूले अनावश्यक झन्झट भोग्नुपरेको गुनासो आएको थियो।
त्यसैगरी, माग प्रमाणीकरणको काम प्रचलित कानुनबमोजिम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि नियोगहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।
गन्तव्य मुलुकस्थित नियोगहरूमा मागपत्र प्रमाणीकरण हुन लामो समय लाग्ने गरेको र अपुग कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाताले सास्ती खेप्नुपरेको व्यापक गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ ।





