काठमाडौँ। नेपाली कांग्रेसले ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। पार्टीको १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो ।
निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाएको छ।निर्देशिकाले उम्मेदवारहरूका लागि आचारसंहिता लागू गरेको छ। निर्वाचनको स्वच्छता कायम राख्न प्रचार–प्रसारका क्रममा जुलुस, कोणसभा वा अन्य कार्यक्रम गर्दा मर्यादित र अनुशासित हुनुपर्ने प्रावधान राखिएको छ।उम्मेदवारले आफ्नो नाम वा चुनाव चिह्न अङ्कित टोपी, भेस्ट, ज्याकेट, मास्क वा अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाउने छैनन्। त्यस्तै, सार्वजनिक स्थलमा होहल्ला गर्न, सवारी साधनको दुरुपयोग गर्न र बालबालिकालाई निर्वाचनसम्बन्धी गतिविधिमा सहभागी गराउन निषेध गरिएको छ।
यसपटकको महाधिवेशनमा निर्वाचन प्रक्रियालाई थप प्रविधिमैत्री बनाइएको छ। उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिएको छ ।
साथै, निर्वाचन परिणाम वेबसाइटमा इन्ट्री गर्ने र डिजिटल माध्यमबाट मतदाता नामावली सच्याउनेलगायतका व्यवस्थाले प्रक्रियालाई छिटो र पारदर्शी बनाउने विश्वास गरिएको छ।
निर्देशिकामा नेपालको संविधान र पार्टी विधानअनुसार समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ। अनुसूची–२४ मा उल्लेखित दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिम समुदायको प्रतिशतलाई ध्यानमा राख्दै पार्टीका विभिन्न तहमा समावेशी सिट सुनिश्चित गरिएको छ।
पिछडिएको क्षेत्र (हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, पश्चिम रुकुम, सल्यान, दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा, बझाङ र अछाम) लाई समेत प्रतिनिधित्वको विशेष व्यवस्था गरिएको छ।
निर्देशिकाले विभिन्न तहमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत र मतदान अधिकृतहरूको भूमिकालाई स्पष्ट पारेको छ।
गाउँ/नगरपालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला र प्रदेश तहसम्मका निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको ढाँचा तोकिएको छ। निर्वाचनमा खटिने पदाधिकारी तथा सदस्यहरूले पालना गर्नुपर्ने प्रतिज्ञा पत्रको व्यवस्था गरिएको छ।
निर्देशिकाले महाधिवेशनका विभिन्न तहका लागि उम्मेदवार हुन आवश्यक पर्ने न्यूनतम योग्यता र शुल्कको पनि स्पष्ट विवरण दिएको छ । वडा तहदेखि केन्द्रीय तहसम्मको उम्मेदवारी शुल्क तोकिएको छ, जसमा केन्द्रीय सभापति पदका लागि ४० हजार र सदस्यका लागि ११ हजार रुपैयाँ तोकिएको छ।








