नेपालमा कृषि सम्भावनाको कमी छैन, न त यहाँ पर्यटककै खडेरी छ। तर समस्या यी दुईको बीचमा छ। हाम्रो कृषिको क्षमता र पर्यटनको आकर्षणलाई एउटै कडीमा उनेर एउटा बलियो व्यवसायिक मोडल बनाउन हामी अझै चुकेका छौँ ।

खेतमा किसानले पसिना बगाइरहेका छन्, होटल-रेस्टुरेन्टले ग्राहकलाई खाना पस्किरहेका छन्, अनि शहरको भीडभाड र प्रदूषणबाट दिक्क भएका मानिसहरू केही समय प्रकृतिको काखमा बिताउने ठाउँ खोजिरहेका छन्. पर्यटकहरू पनि केवल बस्ने कोठा मात्र होइन, नयाँ अनुभवको खोजीमा छन्. विडम्बना, यी सबै पक्षलाई एउटै आर्थिक चक्रमा जोडेर नयाँ आम्दानी सिर्जना गर्ने सोच अझै पनि प्रारम्भिक चरणमै अल्झिएको छ। यही रिक्तताले मलाई एग्रो-टुरिजमको क्षेत्रमा केही नयाँ गर्ने प्रेरणा दियो।

राष्ट्रिय तथ्याङ्क कार्यालयको विवरण हेर्ने हो भने भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान मात्रै २४.०९ प्रतिशत थियो। यसले के देखाउँछ भने कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड त हो, तर यसको ठूलो हिस्सा अझै पनि कच्चा पदार्थकै रूपमा सस्तोमा बजारमा गइरहेको छ। बिचौलिया र बजारको चक्रका कारण एकातिर मिहिनेत गर्ने किसानले उचित मूल्य पाइरहेका छैनन् भने अर्कोतिर अन्तिम उपभोक्ताले त्यही वस्तुका लागि धेरै मूल्य तिरिरहनु परेको छ।

यही समयमा देशको अर्को तितो यथार्थ पनि हाम्रो सामुन्ने छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सोही आर्थिक वर्षमा मात्रै ७ लाख ९२ हजारभन्दा बढी नेपाली युवाहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा होमिएका छन्। यसले मनमा एउटा गम्भीर प्रश्न उब्जाउँछ-हामीसँग खेतीयोग्य जमिन, अनुकूल मौसम र बजारको यति ठूलो सम्भावना हुँदाहुँदै पनि हामीले आफ्नै माटोमा आर्थिक अवसर किन सिर्जना गर्न सकिरहेका छैनौँ ?

मेरो विश्लेषणमा यसको मुख्य कारण उत्पादन नहुनु होइन, बरु कृषिलाई एउका पूर्ण व्यावसायिक चक्रका रूपमा हेर्न नसक्नु हो। हामीले किसानलाई ‘धेरै फलाउनुस्’ त भन्यौँ, तर फलेपछि बजार कसरी व्यवस्थापन गर्ने भन्ने सिकाएनौँ । उत्पादन, प्रशोधन, ब्रान्डिङ, आतिथ्य सत्कार र प्रत्यक्ष बजारलाई एउटै सञ्जालमा जोड्ने प्रयास नेपालमा एकदमै न्यून भयो। एग्रो-टुरिजमले ठ्याक्कै यहीँनेर एउटा नयाँ बाटो देखाउन सक्छ।

तर मेरा लागि एग्रो-टुरिजम भनेको फार्मको वरिपरि केही कटेज बनाएर, आकर्षक बोटबिरुवा रोपेर, शनिबार पिकनिक मनाउने ठाउँ मात्रै पक्कै होइन। त्यो त केवल बाहिरी आवरण मात्र हो र धेरैले गर्ने गल्ती यहीँनेर छ। वास्तविक एग्रो-टुरिजम भनेको त मानिसलाई माटो, प्रकृति र स्थानीय समुदायसँग पुनः जोड्ने एउटा जीवन्त अनुभव हो। उसले खाने खाना कहाँ र कसरी उम्रिन्छ भन्ने कुरा आफैँले अनुभव गर्ने माध्यम हो. तर यो अनुभवलाई दिगो व्यवसाय बनाउन एउटा बलियो योजना चाहिन्छ।

यसलाई एउटा उदाहरणबाट बुझौँ। मानौँ, कुनै किसानसँग ५ देखि १० रोपनी जग्गा छ। अहिले उसले परम्परागत खेती गरेर आफ्नो उत्पादन थोक बजारमा सस्तोमा बेचिरहेको होला। तर यदि उसले आफ्नो दुई रोपनी जग्गामा मात्रै उच्च मूल्यको प्राङ्गारिक स्ट्रबेरी खेती गर्यो र बाँकी जग्गामा साना इको कटेज, एउटा सानो प्रशोधन एकाइ र मौसमी तरकारी लगायो भने व्यवसायको रूप नै बदलिन्छ।

अब उसको व्यवसाय केवल स्ट्रबेरी बेच्ने कुरामा मात्र सीमित रहँदैन। शहरबाट आउने परिवारले आफैँ बुट्टाबाट स्ट्रबेरी टिप्ने अनुभव पाउँछन् र बजार मूल्य भन्दा बढी तिरेर ताजा फल किन्छन्। बालबालिकाले प्रयोगात्मक रूपमा खेतीपाती बुझ्छन्. फार्मकै भान्सामा आफैँले जाम वा अन्य परिकार बनाउने अवसर पाउँछन्। त्यहाँ बस्ने पाहुनाले स्थानीय स्वादको आतिथ्य पाउँछन्। यसरी एउटै जमिनबाट कृषि उत्पादन, प्रत्यक्ष बिक्री, बास, खाना र शैक्षिक भ्रमण जस्ता आम्दानीका अनेकौँ पाटाहरू खुल्छन्।

यद्यपि, एउटा गम्भीर प्रश्न अझै बाँकी रहन्छ-यदि व्यवसाय केवल शनिबार र आइतबार आउने आन्तरिक पर्यटकमा मात्रै निर्भर भयो भने बाँकी पाँच दिन के गर्ने? वर्षायाममा जब मानिसहरू घुम्न निस्किँदैनन्, तब खर्च कसरी धान्ने? पर्यटक नभएको बेला नगद प्रवाह कसरी कायम राख्ने? यस्ता व्यावहारिक प्रश्नहरूको ठोस उत्तर नखोजिएका आयोजनाहरू बाहिरबाट हेर्दा आकर्षक देखिए पनि आर्थिक रूपमा कहिल्यै आत्मनिर्भर हुन सक्दैनन्।

त्यसैले मैले यसलाई फार्म, आतिथ्य सत्कार, बजार र अनुभवको एउटा बलियो समिश्रणका रूपमा हेर्ने गरेको छु। साप्ताहान्तमा परिवार र एकल यात्रीहरूलाई फार्मको अनुभव र आवास बेच्न सकिन्छ भने कार्यदिनहरूमा विद्यालयका विद्यार्थी, कर्पोरेट संस्थाहरूका लागि कार्यशाला वा शैक्षिक भ्रमणहरू सञ्चालन गर्न सकिन्छ। फार्मकै उत्पादनलाई आफ्नै खाद्य व्यवसाय वा बेकरीमा प्रयोग गर्न सकिन्छ। अझ राम्रो प्याकेजिङ र ब्रान्डिङ गरेर बिचौलिया बिना सिधै उपभोक्ताको भान्सासम्म पुग्ने बजार बनाउन सकिन्छ।

यसो गर्दा पर्यटन मन्दी भएको समयमा कृषि र प्रशोधनले व्यवसायलाई आर्थिक बल दिन्छन्। कृषिको फुर्सदको समयमा आतिथ्य सत्कारले आम्दानीको वैकल्पिक बाटो खोल्छ। यही विविधीकरणले व्यवसायलाई एउटा क्षेत्रमा मात्रै सीमित हुन नदिई एउटा बलियो व्यावसायिक प्रणालीका रूपमा स्थापित गर्छ।

हाम्रो आफ्नै एग्रो फार्म र बेकरी व्यवसाय सुरु गर्ने क्रममा मैले यो कुरालाई अझ नजिकबाट भोगेको छु. सुरु-सुरुमा मलाई लाग्थ्यो कि उत्पादन जैविक र राम्रो भयो भने बजार त आफैँ बनिहाल्छ नि! तर बजारको वास्तविकता अर्कै रहेछ।  पैसा खर्च गर्न सक्ने प्रिमियम ग्राहकका लागि केवल ‘अर्गानिक’ शब्द मात्रै पर्याप्त हुँदैन। उसलाई हरेक पटक एउटै स्तरको गुणस्तर, पर्याप्त परिमाण, समयमै ढुवानी र निरन्तर आपूर्ति चाहिन्छ।

किसानले राम्रो फसल फलाउनु एउटा क्षमता हो भने व्यावसायिक क्रेतालाई नियमित रूपमा एउटै गुणस्तर र परिमाणमा सामान उपलब्ध गराउन सक्नु पूर्ण रूपमा फरक क्षमता हो। त्यसैले हाम्रो मुख्य अवरोध खेती मात्रै होइन; बजारसम्म पुग्ने निरन्तरता, प्रशोधन, ब्रान्डिङ र बलियो वितरण प्रणाली पनि उत्तिकै मुख्य चुनौती हुन्।

नेपालको पर्यटन क्षेत्रको आधार सानो छैन. हाम्रो संस्कृति, प्रकृति, मौलिक खाना र ग्रामीण जीवनशैली आफैँमा ठूला आकर्षण हुन्, जसलाई सरकारको पछिल्लो पर्यटन तथ्याङ्कले पनि पुष्टि गर्छ। तर अबको चुनौती पर्यटकको संख्या गन्ने मात्र होइन, बरु प्रति-आगन्तुक हामीले कति मूल्य सिर्जना गर्न सक्छौँ भन्ने हो।

एउटा पाहुना आएर केवल ५०० रुपैयाँको खाना मात्र खाएर फर्कने कि रु. ५,००० देखि १०,००० सम्मको आवास, खाना, फार्म भ्रमण र स्थानीय उत्पादनसहितको एउटा प्याकेज किन्ने?  यही एउटै निर्णयले एउटा सामान्य फार्मलाई एउटा विविधीकृत पर्यटन व्यवसायमा बदल्न सक्छ. तर यसका लागि बहुआयामिक व्यवस्थापकीय क्षमता चाहिन्छ. यहाँ कृषि मात्र बुझेर वा आतिथ्य सत्कार मात्र जानेर पुग्दैन; बाली चक्र, खरिद प्रक्रिया, गुणस्तर नियन्त्रण, ग्राहक सेवा र डिजिटल मार्केटिङ जस्ता सबै विधालाई एकै ठाउँमा कुशलतापूर्वक सञ्चालन गर्न सक्ने नेतृत्व चाहिन्छ।

एक लगानीकर्ताको आँखाबाट हेर्दा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा केवल जग्गाको लोकेसन वा सुन्दरता मात्र होइन. राम्रो स्थान, सडक पहुँच र प्राकृतिक सौन्दर्य त यसका आधारभूत जग मात्र हुन्, ती आफैँमा पैसा कमाउने व्यावसायिक मोडेल होइनन्. मेरो पहिलो ध्यान जहिले पनि आम्दानीको विविधीकरण र व्यवस्थापकीय टोलीको क्षमतामा जान्छ।

जब म कुनै एग्रो-टुरिजम आयोजनाको मूल्याङ्कन गर्छु, मेरो पहिलो प्रश्न “जग्गा कहाँ छ?” भन्ने हुँदैन, बरु “यो व्यवसायले पैसा कसरी कमाउँछ?” र “यसले मन्दीको जोखिमलाई कसरी टार्छ?” भन्ने हुन्छ। कृषि उत्पादन, प्रशोधन, प्रत्यक्ष बिक्री र आवासमध्ये कुन माध्यमले व्यवसायको मौसमी जोखिम कम गर्छ भन्ने स्पष्ट खाका नभएसम्म कुनै पनि अवधारणा लगानी योग्य बन्न सक्दैन. नेपालमा सम्भावना धेरै छ, तर सम्भावना आफैँमा व्यवसाय होइन।

हामी अब कच्चा कृषि उत्पादन मात्र बेच्ने परम्परागत ढर्राबाट माथि उठेर मूल्य अभिवृद्धियुक्त उत्पादनतर्फ लाग्नै पर्छ. फार्मलाई केवल खेती गर्ने ठाउँ मात्र होइन, एउका ब्रान्ड बन्ने केन्द्रका रूपमा विकास गर्नुपर्छ। पर्यटनलाई केवल कोठा भाडामा दिने माध्यम मात्र नबनाई एउटा जीवन्त अनुभवको रूपमा प्रस्तुत गर्नुपर्छ। अनि हाम्रो लगानी केवल कंक्रिटका भवन ठड्याउनमा होइन, बरु निरन्तर आम्दानी दिने एउटा दिगो व्यावसायिक प्रणाली निर्माणमा केन्द्रित हुनुपर्छ।

वास्तविक अवसर कुनै एउटा क्षेत्रभित्र मात्र खुम्चिएर बस्दैन, बरु दुई-तीनवटा फरक व्यवसायलाई सही ढङ्गले जोड्दा मात्र नयाँ मूल्य सिर्जना हुन्छ। एउटा फार्मलाई होटलको भरपर्दो आपूर्ति साझेदार बनाउँदै आफैँमा एउटा पर्यटकीय गन्तव्य पनि बनाउन सकिन्छ. त्यहाँको उत्पादनलाई आफ्नै ब्रान्डमा बजारमा उतार्न सकिन्छ। नेपालको कृषि क्षेत्रले पर्खिरहेको अर्को ठूलो क्रान्ति यही हो-खेतीलाई केवल पेट पाल्ने उत्पादनको रूपमा होइन, बरु मूल्य अभिवृद्धिको प्रस्थानविन्दुको रूपमा हेर्ने. यसको भविष्य खेतमा पर्यटक ल्याउनुमा मात्र सीमित छैन, बरु खेतबाट सुरु हुने एउटा बलियो आर्थिक इकोसिस्टम निर्माण गर्नुमा छ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय