नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगामा ६ महिनादेखि जमिनमुनिबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासीमा भीषण त्रास छाएको छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा आएको विज्ञ टोलीले प्रारम्भिक अध्ययन गरी नडराउन आग्रह गरे पनि गाउँलेको त्रास कम हुन सकेको छैन।
हुप्सेकोट–६ का वडाध्यक्ष छामबहादुर सोमैमगरले ६ महिनादेखि नागरिक त्रासमै बाँच्न बाध्य भएको बताए। उनले भने, ‘मान्छेहरू त्रासमै छन्, राति पनि पहिरो जाने हो कि, ज्वालामुखी निस्कने हो कि भनेर सुत्ने अवस्था छैन।’ वडाध्यक्ष सोमैमगरका अनुसार काठमाडौंबाट आएको विज्ञ टोलीले सचेत रहन आग्रह गरेको छ। उनले थपे, ‘धुवाँ कहिलेसम्म आइरहने हो, गाउँ नै छाड्नुपर्ने हो कि भन्ने त्रासमा गाउँले छन्। यो स्थानीय सरकारको मात्र विषय नभएकाले संघीय सरकारले तत्काल समाधान गरोस्।’
स्थानीय केशबहादुर सोमैले वर्षा सुरु भएपछि धुवाँको मात्रा बढेको र स्वास्थ्यमा समस्या देखिन थालेको बताए। उनले भने, ‘आँखा पोल्ने र मान्छेहरू बिरामी हुने क्रम बढेको छ, खोलाको पानीको स्वाद पनि नुनिलो छ।’
भूगर्भविद्हरूका अनुसार भौगर्भिक संरचनाका कारण यो समस्या आएको हो। अध्ययन टोलीका प्रमुख एवं खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले भने, ‘त्यहाँ पाइराइट नामक खनिज छ, जसमा सल्फरको मात्रा बढी हुन्छ। पाइराइटले अक्सिजनसँग रासायनिक प्रतिक्रिया गर्दा उत्पन्न तापले कार्बनयुक्त चट्टान जल्न थालेर धुवाँ निस्किएको हो।’
लुइँटेलका अनुसार चट्टान जल्दा सल्फर डाइअक्साइडजस्ता विषाक्त ग्यासहरू निस्कने भएकाले मानिसमा आँखा पोल्ने, टाउको दुख्ने र पानी अम्लीय हुने जोखिम रहन्छ। यद्यपि, उनले ज्वालामुखीको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरे। ‘ज्वालामुखीको सम्भावना छैन, भौगर्भिक संरचना त्यस्तो छैन। भिडियो हेरेर स्थानीयवासी त्रसित हुनु पर्दैन,’ उनको भनाइ छ।
समस्या समाधानका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन्। पाण्डेले भनिन्, ‘हामीले असारमै विपद् प्राधिकरणलाई पत्र पठाएर डेलिगेसन गएका छौं। अहिले धुवाँ निस्किएको क्षेत्रमा प्रवेश प्रतिबन्ध लगाउने तयारी छ।’
संसद्मा सांसदहरू मनिष खनाल र राजन गौतमले आवाज उठाएका थिए। त्यसपछि खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी र नास्टका विज्ञ सम्मिलित टोलीले माटो, ढुंगा, पानी र धुवाँको नमुना संकलन गरी काठमाडौं फर्किएको छ। नजिकै रहेको राष्ट्रिय गौरवको धौवादी फलाम खानी जोखिममा नरहेको विज्ञहरूले बताएका छन्। एक सयभन्दा बढी घरधुरी रहेको सो क्षेत्रमा टोलीको प्रयोगशाला परीक्षणपछि विस्तृत प्रतिवेदन आउनेछ।








