
गोरखा, साउन ११ – गोरखा जिल्लाको सिरानचोकबाट उदाएका एक होनहार युवा, जितेन्द्र गुरुङ, जसलाई सबैले ‘जिदान गुरुङ’ को नामले चिन्न थालेका छन्, यसपटकको नेपाल आइडल प्रतिस्पर्धामा सहभागिता जनाउँदै देशभर चर्चा बटुल्दै छन्। सुमधुर स्वर, आत्मविश्वासी प्रस्तुति र सांगीतिक भावनाले भरिएको उनको गायनले निर्णायक मात्र होइन, दर्शकको मन पनि जितिरहेको छ।
गोरखाको रमणीय गाउँमा हुर्किएका जिदान सानैदेखि गीत–संगीतप्रति अत्यन्त रुचि राख्थे। गाउँको विभिन्न कार्यक्रम देखी विद्यालयको कार्यक्रम हुदैँ मेला महोत्सबसम्म उनका स्वर घन्किने गर्दथ्यो। उनी भन्छन् – “गाउँको डाँडामा गित गाउँदै गर्दा सधैं सपना देख्थे– एकदिन ठूलो मञ्चमा गीत गाउनेछु।”
नेपाल आइडल सिजनमा उत्कृष्ट गायन क्षमताका साथ उपस्थित भएका जिदानले अडिसनदेखि नै निर्णायकको ध्यान खिच्न सफल भएका थिए। निर्णायकहरूले उनको आवाजलाई ‘अनबिटेबल पावर र प्यासन’ भनेका थिए। अहिले उनी नेपालभरका संगीत प्रेमीहरूको समर्थनका साथ टप प्रतिस्पर्धीहरूको सूचीमा परेका छन्।
गीतसँगै उनको मुस्कान र सरल व्यक्तित्वले युवापुस्तालाई आकर्षित गरिरहेको छ। समर्थकहरूले #VoteForJidan ह्यासट्यागमार्फत उनलाई जिताउन व्यापक
अभियान चलाइरहेका छन्।
नेपाल आइडलमा जिदानको उपस्थितिले गोरखाली मात्र होइन, सम्पूर्ण नेपाली युवामा आशा, प्रेरणा र गर्वको अनुभूति गराएको छ। उनी भन्छन्:
“यो मेरो व्यक्तिगत यात्रा मात्र होइन, मेरो गाउँ, मेरो जिल्ला र सम्पूर्ण नेपालका लागि पनि हो।”