काठमाडौँः इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् ।
भूकम्पपछि फ्लोरेस टापुका विभिन्न क्षेत्रमा पहिरो जाँदा मानिस पुरिएको आशंकामा उद्धारकर्ताले खोजी तीव्र बनाएका छन् । मङ्गराईमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको विपद् व्यवस्थापन निकायले जनाएको छ । भूकम्पबाट ९०० भन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चसहित कम्तीमा १६७ सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ ।
करिब ५ हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । पहिरोका कारण ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध हुँदा दुर्गम क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भएको छ । विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले खोजी तथा उद्धार कार्य थप प्रभावित भएको अधिकारीहरूले बताएका छन् । इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्प तथा ज्वालामुखीको उच्च जोखिममा रहेको देश हो ।
यसअघि सन् १९९२ मा फ्लोरेसमा गएको भूकम्पपछिको सुनामीमा करिब २ हजार ५०० जनाको मृत्यु भएको थियो ।






