गोरखा । स्थानीय पर्यटन प्रवर्द्धनका लागि आरुघाट गाउपालिका–८ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल बालकन्या मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । बालकन्या माइपुजाको अवसर पारेर पौष २९ गते मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो ।
मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न आरुपोखरी युवा क्लब र आरुघाट गाउपालिकाको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको स्थानीय नेता आशिष खनाल ज्युले बताउनु भयो ।
उनका अनुसार पौष २९ गते रातभर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । उपस्थित कलाकारहरुमा सागर वि.सि., मठु गुरुङ , सुमन थापा, सरुना ढवाडि, श्याम वि.सि., बिकाश सुनार लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । त्यसैगरी स्थानीय कलासंस्कृती प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश रहेको छ ।
आशिष खनालको अनुसार यस बालकन्या मन्दिरमा हरेक वर्ष माघे सक्रान्तीको अघिल्लो रातको अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजा गर्ने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै प्रसाद चढाउने प्रचलन छ ।
उहाको अनुसार पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण स्थानीय सरकारले गरेमा स्थानीय पर्यटनलाइ बढाउन सकिने बताउनुभएको छ । उहाको अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याउन पर्नेछ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउन पर्ने छ ।