नेपालका विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, सङ्घर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘सङ्घर्षले बुनेका साझा सपना’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ।
विभेदविरुद्ध आवाज उठाएका, समुदायलाई संगठित गरेका तथा अधिकार, सम्मान र सामाजिक न्यायका लागि सङ्घर्ष गरेका महिलाका व्यक्तिगत यात्रामार्फत नेपालका सामाजिक आन्दोलनको इतिहास र त्यसमा महिलाको भूमिकालाई पुस्तकमा अभिलेख गरिएको छ।भ्वाइसेस् अफ वुमन मीडियाद्वारा प्रकाशित यस पुस्तकले ओझेलमा पर्दै गएका महिलाका नाम, अनुभव र आवाजलाई इतिहासभित्र स्थापित गर्ने प्रयास गरेको छ। पुस्तकमा बादी समुदायको अधिकार र सम्मानका लागि सङ्घर्ष गरेकी उमादेवी बादी तथा एसिड आक्रमणबाट बाँचेर न्यायका लागि निरन्तर लडिरहेकी मुस्कान खातुनको कथा समेटिएको छ।त्यसैगरी सार्वजनिक स्मृतिबाट हराउँदै गएको सिनो बहिष्कार आन्दोलनमा सक्रिय महरीदेवी, भोला देवी र चन्देश्वरी सदाका अनुभवमार्फत जातीय विभेदविरुद्ध महिलाले गरेको सङ्घर्ष र साहसको इतिहास प्रस्तुत गरिएको छ। आज सामान्य लाग्ने अधिकार र सामाजिक परिवर्तन लामो संघर्षको परिणाम भएको र महिलाको प्रतिरोधले नै नेपाली समाजको वर्तमान स्वरूप निर्माण गरेको कुरा पुस्तकमा दर्साइएको छ।
विमोचन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महिलाका सङ्घर्षलाई लेखन र अभिलेखीकरणमार्फत सार्वजनिक स्मृतिमा स्थापित गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताइन्। पुस्तक विमोचनलाई महिला अधिकार आन्दोलनको अर्को कोशेढुंगाका रूपमा लिँदै उनले भनिन्, ‘यी कथाहरू यसरी लिपिबद्ध भएको देख्दा निकै राम्रो लागेको छ।’
नलेखेसम्म इतिहास नबन्ने उल्लेख गर्दै उनले थपिन्, ‘महिलाका सङ्घर्षमाथि प्रश्न उठाइने समाजमा आफ्नै कथा स्थापित गर्ने बलियो माध्यम यस्ता लेखन हुन्।’ पुस्तक सार्वजनिकपछि ‘महिला नेतृत्व र सामाजिक आन्दोलनहरूस् चिन्तन र अभ्यास’ शीर्षकमा प्यानल छलफल आयोजना गरियो ।
महिला, शान्ति तथा सुरक्षा विज्ञ हेमलता राईले सहजीकरण गरेको छलफलमा अपाङ्गता अधिकार अभियन्ता मुना शाक्य, सांसद पार्वती वि.क., डिजिटल अधिकार अभियन्ता रिता बरामु र त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना सिवाकोटी सहभागी थिए।
छलफलमा व्यक्तिगत संघर्षका कथालाई महिला नेतृत्व, सामाजिक न्याय र सामूहिक अभियानका बृहत्तर सवालसँग जोडेर भावी आन्दोलनका लागि आवश्यक सिकाइबारे विचारविमर्श गरिएको थियो।








