काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताएका छन् ।
काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताए ।
पूर्वगभर्नरसमेत रहेका उनले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रूपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाब दिने कार्य गर्न नहुने बताए । अपराध पुष्टि नभएको अवस्थामा अदालतबाट छुट्ने भएकाले त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उनको भनाइ छ ।
उनले ग्रे लिस्टबाट बाहिरिनका लागि अन्तर्राष्ट्रिय निकायले कार्यान्वयन र परिणाम खोज्ने बताए । त्यसको लागि सरकारले विश्वसनीय रूपमा काम गरेर परिणाम देखाउनुपर्ने उनको भनाई छ ।
ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पुँजी प्रवाहमा असर पर्ने उनले बताए । नेपाललाई विगतमा ग्रे लिस्टबाट बाहिर निकाल्न निकै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उहाँले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भने, ‘हामी यो घरजग्गाको मूल्य, सेयर बजार, यो त आन्तरिक चक्करमा परिरहेका छौँ । यदि हामी ग्रे लिस्टबाट निस्कन सकेनौँ भने बैंकिङ सिस्टममा के होला ? तपाईंहरूको इन्टरनेसनल ट्रेड के होला ? क्यापिटल फ्लो के होला ? ग्रे लिस्टबाट निस्कन भनेर बैंकरहरूलाई च्याप्पच्याप्पी पकडेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ । सरकारले क्रेडिब्ली काम गर्नुपर्यो र रिजल्ट देखाउनुपर्यो । त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ ।’
नेपाल ग्रे लिस्टबाट बाहिरिनका लागि सरकारले आवश्यक सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।








