नेकपा एमाले कपिलवस्तुले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवर मुसलमानलाई पार्टीबाट कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।
दुवै जनप्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको जानकारी पाएपछि एमाले कपिलवस्तुले उक्त निर्णय गरेको हो।
तौलिहवामा सम्पन्न एमाले कपिलवस्तु जिल्ला सचिवालयको १३औँ बैठकले चौधरी र मुसलमानलाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्नुका साथै जनप्रतिनिधिको पदबाट समेत मुक्त गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए।
एमालेका अनुसार बहालवाला जनप्रतिनिधिले अर्को राजनीतिक दलको सदस्यता लिएकाले पार्टीको विधान र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो।
जिल्लाको निर्णयअनुसार दुवै जनप्रतिनिधिमाथि थप कारबाहीका लागि केन्द्रमा औपचारिक सिफारिस पठाइने अध्यक्ष खनालले बताए।








