काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा नेपालको तर्फबाट के पहल गर्ने योजना रहेको छ भन्दै प्रश्न गरेकी छन्।
संसदीय सुनुवाइ समितिमा आज भइरहेको प्रस्तावित राजदूत पाण्डेको सुनुवाइका क्रममा अर्यालले नेपालको भूमि र राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट धारणा राख्न आग्रह गरेकी हुन्।
‘कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय छ । त्यो हाम्रो भूमि हो, तथ्य यही हो । यसमा के गर्नुहुन्छ ?’ अर्यालले प्रश्न गरिन्।
उनले प्रस्तावित राजदूत पाण्डेलाई नेपालको राष्ट्रिय हित संरक्षणका लागि के-कस्ता योजना अघि सार्ने तयारी गरेका छन् भन्ने विषयमा पनि प्रश्न गरेकी छन्।
अर्यालले विगतका राजदूतहरूको कार्यशैलीभन्दा फरक र परिणाममुखी काम गर्न सुझाव दिँदै नेपाल–भारत व्यापार घाटा कम गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।
त्यसैगरी, नेपाली उत्पादनका लागि भारतीय बजारमा रहेका सम्भावनाको उपयोग गर्न तथा व्यापार विस्तारमा देखिएका अवरोध हटाउन प्रभावकारी पहल गर्न उनले प्रस्तावित राजदूतलाई सुझाव दिएकी छन्।








