काठमाडौं । निसर्ग बाटिका स्कुलले १४औँ एनएसए कप पौडी प्रतियोगिताको टिम च्याम्पियन ट्रफी जितेको छ । सातदोबाटोस्थित पौडीपोखरीमा सम्पन्न दुईदिने प्रतियोगितामा निसर्गले १ हजार ३६३ अंकसहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ६१३ अंकसहित दोस्रो तथा जेम्स स्कुल ६०६ अंकसहित तेस्रो भए ।

प्रतियोगितामा नेपाल आर्मी क्लबकी डुवाना लामाले महिला तथा नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठले पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि जिते । डुवानाले सात स्वर्ण पदक जित्दा इर्भिनले चार स्वर्ण र दुई रजत पदक हात पारे ।

नेपाल पौडी संघका अनुसार प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । इर्भिन श्रेष्ठले सर्वाधिक ६ राष्ट्रिय कीर्तिमान बनाउँदा अभिषेक प्रधानले चार र जाडेन श्रेष्ठले तीन कीर्तिमान कायम गरे ।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतालगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल पौडी संघका अनुसार आगामी डिसेम्बरको पहिलो साता चीनको बेइजिङमा आयोजना हुने सर्टकोर्स विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय